स्वर्गीय श्रीमानको सम्झनामा गोरखनाथ माविमा अक्षयकोष स्थापना

हाेम राइ मगर   २०८२-०५-३०


पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पा निवासी कृष्णा कुमारी रानाले आफ्ना स्वर्गीय श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ ।

आफ्ना स्वर्गीय श्रीमान भुम बहादुर रानाको स्मृतिमा गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । ८९ हजार ५५५ रुपैयाँको अक्षयकोष बापतको रकम गरीब तथा जेहन्दार विद्यार्थीहरुका लागि सो रकम उपलब्ध गरिएको अक्षयकोषदाता रानाले बताउनुभयो ।

स्वर्गीय रानाका जेष्ठ सुपुत्र याम बहादुर रानाले एक कार्यक्रमका बिच विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीलाई हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय राना तत्कालीन समयमा अर्चले गाउँ बिकास समितिमा निर्विरोध अध्यक्ष तथा सोही विद्यालयमा ३ कार्यकाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर जिम्मेवारी बहन गर्नुभएको थियो । लामो समय देखि पक्षघातका कारण बिरामी हुनुभएका स्वर्गीय रानाको ७५ वर्षको उमेरमा यही साउन १५ गते निधन भएको थियो

अक्षयकोष हस्तान्तरण गर्दै जेष्ठ छोरा रानाले अक्षयकोष स्थापनाको उद्देश्य, महत्त्व र प्रयोग बारे बोल्नुभएको कार्यक्रमको सन्चालन निमित्त प्रधानाध्यापक राजु प्रसाद भण्डारीले गर्नु भएको हो ।