रामपुरमा यात्रु सहायता कक्ष स्थापना, चाडपर्वमा यात्रुलाई सहजता

बोली खबर   २०८२-०६-०७

असोज ७, रामपुर (पाल्पा) –
चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने सास्ती न्यूनीकरण गर्ने उद्देश्यले रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट परिसरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुरको पहलमा, नमस्ते यातायात, रामसिता यातायात, स्थानीय व्यापारी तथा व्यवसायीहरूको सहकार्यमा उक्त कक्ष सञ्चालनमा ल्याइएको हो।

मंगलबार एक विशेष कार्यक्रम गरी कक्षको उद्घाटन गरिएको कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरू, यातायात व्यवसायी, व्यापारी, चालक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता थियो।

अवसरमा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले चाडपर्वका बेला केवल यातायातमा मात्र नभई बजारमा समेत विभिन्न समस्या देखिने बताउनुभयो। उहाँले कालोबजारी, म्याद गुज्रिएका खाद्यान्न तथा अखाद्य सामग्रीको बिक्रीवितरण जस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकाय सतर्क रहने र समस्या परेमा यात्रु तथा उपभोक्ताले सहायता कक्षमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै उहाँले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई शुभकामना पनि व्यक्त गर्नुभयो।

नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेलले अनुसार चाडपर्वताका दिनमा दोब्बर भाडा असुल्ने, एउटै सिटमा दुईवटा टिकट बिक्री गर्ने, यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुनेजस्ता गतिविधि रोकथाम गर्न र यात्रुलाई सहज यात्रा सुनिश्चित गर्नकै लागि सहायता कक्षको आवश्यकता भएको हो। त्यस्तो भएमा तुरुन्त सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, मुस्लिम आयोगका हजिल मिया, नमस्ते यातायात रामपुरका कोषाध्यक्ष भोजराज भट्टराई रामसिता यातायात प्रालिका प्रकाश ज्ञवाली, लगायतले शुभकामना मन्तव्य राख्दै यात्रु सहायता कक्ष सञ्चालन प्रति खुशी व्यक्त गर्नु भएको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले यात्रा गर्दा ध्यान दिनु पर्ने कुरा बताउदै चाडवाड नजिकीदा चोरी डकैती जस्ता घटना घट्न सक्ने भएकोले नागरीक सचेत रहन अनुरोध गर्नु भएको छ । उहाँले त्यस्तो घटना घटेमा वा सङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नु समेत आग्रह गर्नुभएको छ। कार्यक्रम को अध्यक्षता ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले गर्नु भएको हो । भने सञ्चालन सहायक प्रहरी निरीक्षक बाबुराम श्रेष्ठले गर्नुभएको थियो।

यात्रु सहायता कक्ष स्थापनाले चाडपर्वमा यात्रुलाई हुने असुविधा कम गर्ने, सुरक्षित, सहज र व्यवस्थित यातायात व्यवस्था कायम गर्ने अपेक्षा गरिएको छ।