शेयर भेला तथा SEE विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०६-०९

पाल्पा, असोज । विद्यालय व्यवस्थापन समितिको आयोजनामा शेयर भेला तथा SEE विद्यार्थी सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन विकास समितिका सदस्य माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यसैगरी प्रमुख अतिथि माननीय राजु प्रसाद श्रेष्ठले शिक्षामा गरिएको सामुदायिक लगानी प्रशंसनीय रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण विद्यालयलाई पनि मजबुत बनाउने धारणा राखे । उनले भने, “गाउँ–समाजबाटै शिक्षामा लगानी गर्ने संस्कार विस्तार हुनु सकारात्मक पक्ष हो, यसले भावी पुस्तालाई दृढ आधार दिन्छ ।”

अध्यक्ष गुरु प्रसाद रेग्मीले शिक्षालाई समाज विकासको मूल आधार भएको उल्लेख गर्दै शेयर सदस्यहरूको निरन्तर योगदान र सहयोग आवश्यक रहेको बताए । उनले भने, “शिक्षा र अनुशासन विद्यार्थीको उज्ज्वल भविष्यको आधार हो, विद्यालयलाई अझ सशक्त बनाउन सबैको सहकार्य अपरिहार्य छ ।”

कार्यक्रमको प्रारम्भमा सदस्य रुद्र नारायण श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । सो अवसरमा कक्षा १२ की विद्यार्थी रोजलिन सेन (GPA ३.८४) र कक्षा १० का विद्यार्थी संयुज भण्डारी (GPA ३.९५) ले अनुभवात्मक मन्तव्य राख्नु भएको थियो । साथै पूर्व संचालक समिति अध्यक्ष बिष्णु रेग्मी समितिका सदस्य गंगा अधिकारी, सह–प्रधानाध्यापक खुम बहादुर सारू, आफ्ना धारणा प्रस्तुत गर्नु भएको थिए ।


भूतपूर्व अध्यक्ष बिष्णु रेग्मी, समितिका सदस्यहरू रुद्र नारायण श्रेष्ठ, गंगा अधिकारी, युबराज शाही, पीताम्बर भण्डारी, तूल बहादुर राना लगायत सम्पूर्ण शेयर सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय शैक्षिक उपलब्धिलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक सूर्य प्रसाद घिमिरेले गर्नु भएको थियो ।