पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–८, जरुवापानीमा मोटरसाइकलको ठक्कर बाट एक बेवारिसे पुरुषको मृत्यु भएको छ । विगत ८ वर्ष देखि जरुवापानी क्षेत्रमा वेवारिसे अवस्थामा सार्वजनिक स्थानमा बस्दै आएका पुरुषको निधन भएको हो ।
हुँगी बाट बेझाँड बजार तर्फ आउँदै गरेको लु ३१ प ४८६४ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेको अवस्थामा सोमबार साँझ साढे ८ बजे जरुवापानीमा उनलाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीका अनुसार मोटर साइकलको ठक्कर बाट घाइते हुनु भएको उहाँलाई प्रहरीले उद्धार गरी उपचारको लागि रामपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा आज विहान चार बजे निधन भएको हो । मृतकको शव रामपुर अस्पतालको शवगृहमा राखिएको छ ।
मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सुस्तमनस्थितिको बेवारिसे पुरुष विगत ८ वर्ष देखि जरुवापानी वरपरका सार्वजनिक स्थानमा बस्दै आएका थिए । मृतकको उचाई ५ फिट ३ इन्च र मंगोलियन अनुहार रहेको छ । प्रहरीले सूचना जारी गर्दै आफन्त वा चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


