पाल्पा, असोज २२।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते बुधबार एकै दिन चारवटा सेवाकेन्द्रहरूबाट साधारण सभाका लागि प्रतिनिधिहरूको चयन गरेको छ। रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु, र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय रूपमा सम्पन्न उक्त कार्यक्रममा निणर्य प्रमाणितसहित प्रतिनिधि छनोट गरिएको हो।
सहकारीले असोज २४ गते शुक्रबार केन्द्रीय कार्यालय तथा सहयोगी सेवाकेन्द्रमा आबद्ध शेयर सदस्यहरूका लागि शहिद बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। त्यसपछि कात्तिक १ गते एकाइगत साधारण सभाबाट छनोट भएका प्रतिनिधि सदस्यहरूको निणर्य प्रमाणितसहितको साधारण सभा संस्थाको आफ्नै सभाहलमा आयोजना हुने भएको छ।कार्यक्रमका अवसरमा सहकारीले प्रत्येक सेवाकेन्द्रमा नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट वाल बचतकर्ता, सफल तथा नमूना व्यवसायी, उत्कृष्ट केन्द्र तथा उत्कृष्ट केन्द्र प्रमुखहरूलाई पुरस्कार प्रदान गरेको थियो। साथै, गत आर्थिक वर्षमा ७० वर्ष पूरा गरेका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान तथा पेन्सन भत्ता वितरण गरिएको थियो। अहिलेसम्म सहकारीका १४२ जना ज्येष्ठ शेयर सदस्यहरूले मासिक रूपमा भत्ता प्राप्त गर्दै आएका छन्।
पाल्पा जिल्लाभर वित्तीय सेवा विस्तार गर्दै आएको सहकारीले २०८२ साल असार मसान्तसम्म आइपुग्दा ११,४४० जना शेयर सदस्य, १ अर्ब २६ करोड वचत, १ अर्ब ५ करोड ऋण लगानी, र १५ करोड ८३ लाख रुपैयाँ शेयर पुँजी सहित १ अर्ब ६४ करोड बराबरको पुँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाएको छ।
यस वर्ष सहकारीको विधान अनुसार सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन तथा निर्वाचन हुने भएकाले सहकारीले सोहीअनुसार आफ्ना कार्यक्रमहरू अगाडि बढाएको जानकारी दिएको छ।
रामटार सेवा केन्द्रमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा न १० का वडा अध्यक्ष तोयानाथ सारु प्रमुख वक्ताको रुपमा रहनु भएको थियो । वडा अध्यक्ष सारुले बोल्दै बचत गर्ने उत्पादन र बजारीकरणमा जोड दिनु भएको छ । बित्तिय साक्षरतामा वडाले पनि ध्यान दिएको स्मरण गराउदै राजनीति सेवा हो पेशा होइन भन्दै पछिल्लो राष्ट्रिय घटनाक्रमले काम गर्ने, उत्पादन सङ्ग जोडिएर बचत गर्ने वानी बसाल्नु पर्ने बताउनु भएको छ ।
सस्थाका सचिब ओम प्रकाश बस्यालको अध्यक्षता र रामचन्द्र ढुङ्गानाको सन्चान रहेको थियो ।















