पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. १०, धन्सारवारिमा जन्मेका हरी प्रसाद भण्डारी अहिले ५९ वर्षका हुनुभएको छ । उहाँको जीवन एउटा साधारण गाउँले मानिसले कसरी मेहनत, सीप र दृढसंकल्पका माध्यमबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हो ।
बचपनदेखि नै गाउँकै माटोमा खेल्दै हुर्किएका हरी प्रसादको परिवार सामान्य आर्थिक अवस्थाको थियो। चार छोरी, एक छोरा, श्रीमती र आफैं गरी ६ जनाको परिवारको जिम्मेवारी उहाँको काँधमा थियो । परिवार पाल्न, छोराछोरीको पढाइ खर्च जुटाउन र घर बनाउने सपना पूरा गर्न उहाँले गाउँ बाहिर पसिना बगाउने निर्णय गर्नुभयो ।
वि.सं. २०५३ सालमा उनले पलम्बिङ (एगिmदष्लन) तालिम लिनुभयो । गाउँमा सीप सिक्ने त्यस्तो चलन त्यतिबेला कमै थियो, तर हरी प्रसादले आफ्नो भविष्यको बाटो सीपमार्फत खोज्ने निश्चय गर्नुभएको थियो । तालिमपछि उहाँले विभिन्न ठूला आयोजना—जस्तै मेलम्ची खानेपानी आयोजना, कालीगण्डकी हाइड्रोपावर, हिमाल हाइड्रो लगायतका क्षेत्रमा काम गर्नु भयो ।
सुरुवातमा दिनभर घाममा पोलिँदै, कहिले चिसो पानीमा भिज्दै, कहिले पहाडको ढुंगामाटोमा पसिना बगाउँदै उहाँले मेहनत र्गनु भयो। सामान्य लेख पढ गर्ने हरिप्रसादले अनुभव र सीपलाई मुख्य कुरा मान्नु भयो । वर्षौसम्म लगातार काम गर्दै जाँदा उहाँ कुशल पलम्बर बन्नु भयो अहिले घर गाउँमा यसका लागी पनि हरि प्रसादलाइ गाउलेले सम्झन्छन ।
तर, बुढ्यौलीसँगै उहाँलाई परिवार र गाउँको मायाले तान्न थाल्यो। शहरमा कमाएको पैसा र अनुभव लिएर उहाँ फेरि आफ्नै गाउँ फर्किनु भयो र यहीँबाट सुरु भयो उहाँको दोस्रो संघर्ष—कृषि आत्मनिर्भरता।
पाँच वर्षअघि उहाँले घरको खाली जग्गा उपयोग गरेर सानो बारीमा तरकारी खेती सुरु गर्नु भएको थियो । सुरुमा धेरैलाई लाग्यो, “पलम्बरले खेती गरेर के गर्न सक्छ?“ तर हरी प्रसादका हातमा सीप र मनमा लगन थियो। आज त्यो सानो प्रयास नै उहाँको मुख्य आम्दानीको माध्यम बनेको छ।
उहाँको बारी अहिले हरियो बगैँचा बनेको छ। बन्दाकोबी, काउली, टमाटर लगायतका तरकारीहरू निकै राम्रो फलिरहेका छन्। विशेषगरी करिब ५०० भन्दा बढी टमाटरका बोटहरू अहिले फलफूलले भारी छन्। उत्पादन सुरु भइसकेको छ र उहाँले वर्षमा करिब ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थाल्नु भएकने छ।
तर, सफलता सजिलै आएको होइन। बारीमा पानीको समस्या अझै पनि ठूलो चुनौती छ। सिँचाइका लागिे स्प्रिङ्कल र थोपा सिँचाइ प्रणाली प्रयोग गर्न थालेका छन्। पानीको सीमितता बीच पनि मेहनत र प्रविधिको उपयोग गरेर बारीलाई हराभरा बनाउनु भएको छ ।
उत्पादन रामपुर, रामटार, बेझाडका स्थानीय बजारमा लाने गर्नु भएको छ । धेरैजसो तरकारी स्थानीय खपतमै सकिन्छ, तर कहिलेकाहीँ उत्पादन वढाउदा बुटवलसम्म पठाउन पर्ने अवस्था आउँछ। यद्यपि, बजारीकरण र यातायात अहिले पनि प्रमुख समस्या रहेको बताउँनु हुन्छ ।
हरी प्रसाद भन्नुहुन्छ,“सहरमा पसिना बगाएँ, यहाँ माटोमा पसिना बगाउँछु। फरक के छ भने यहाँ आफ्नै माटोको गन्ध छ, आफ्नै सन्तुष्टि छ।”
अहिले उहाँ र उहाँकी श्रीमती मात्र घरमा हुनुहुन्छ । सन्तानहरू आफ्नो काम र जिम्मेवारीमा व्यस्त छन्। तर, श्रीमतीसंगै उहाँ बिहान सबेरै उठेर, गाईभैंसी हेरचाह , बारीमा काम गर्नु हुन्छ , अनि बजारका लागि तरकारी तयारी हुन्छन् ।
उहाँ गाउँका युवालाई पनि खेतीतर्फ आकर्षित गर्न चाहानुहुन्छ ।
“विदेश गएर कमाएको पैसाले पनि खुशी पाइनँ। गाउँमै बसेर माटो जोतेर आत्मनिर्भर हुन सकिन्छ भन्ने देखाउन खोजेको छु,”
उहाँ मुस्कुराउँदै भन्नु हुन्छ ।
उहाँको मेहनतले अहिले गाउँमा नयाँ सोच जगाएको छ—“सीप र श्रमको सम्मान गरौँ, माटोमा भविष्य खोजौँ।”
हरी प्रसाद भण्डारीको जीवनकथा एक सन्देश हो—
संघर्ष कहिल्यै व्यर्थ हुँदैन,
मेहनतको फल ढिलो भए पनि पक्कै पाक्छ ।


