रामपुर उद्योग वाणिज्य संघ रामपुरले एघारौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनायो

  २०८२-०६-२५

पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुरले एघारौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । शुक्रबार संस्था स्थापना दिवसको अवसरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभा एवं स्थापना दिवस समारोह लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उट्घाटन गर्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले हामीले लोकतन्त्र मान्ने, संविधान मान्ने तर पार्टी मान्दिन भन्न नपाउने बताउनुभयो । उहाँले अब सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । जेनजी आन्दोलनमा निकै राम्रो माग भए पनि दोस्रो परिस्थिती आउनुमा घुसपैठ भएको बताउँदै बाह्य शक्तिले याहाँकै शक्ति प्रयोग गरेर निजी व्यवसायमा क्षति गराएको बताउनुभयो । वर्तमान अवस्थामा विदेशी लगानी आउने अवस्था नरहेको भन्दै स्वदेशका लगानीकर्ता कसरी ल्याउने भन्ने विषयमा ध्यान दिनु पर्ने बताउनुभयो । ‘कुनै नेता र व्यवसायीको नाममा निजी क्षेत्र माथि प्रहार भएको छ । उनीहरुलाई कारणवाही हुनै पर्छ ।’ उहाँले भन्नुभयो । उद्योगी व्यवसायीलाई कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा लागि परेको बताउनुभयो । साथै रामपुर उद्योग वाणिज्य संघले रामपुरको विकासमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो ।

संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यसमितिका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले सुरक्षाको प्रत्याभूति नभए सम्म उद्योग व्यवसायमा सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । भ्रष्टाचारको अन्त्य र सुशासन लगाएतको माग राख्दै भएको जेन्जी आन्दोलनका क्रममा घुसपैठका कारण निजी क्षेत्र माथि पनि प्रहार भएको बताउँदै निजी क्षेत्रमा क्षति गर्नेहरुलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउनुभयो । आन्दोलन पश्चात सरकार संग भएको छलफलको क्रममा सुरक्षाको प्रत्याभुति दिलाउन आश्वासन प्राप्त भए पनि अहिल्यै विश्वस गर्न सकिने अवस्था नरहेको धारणा व्यक्त गर्नु भयो । उहाँले लोकतन्त्र आएपछि आर्थतन्त्र सुधारको लागि राज्यको प्राथमिकतामा नपरेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पछिल्लो मुलुकको परिस्थितिले निजी क्षेत्र धर्मराएको अवस्था रहेको भन्दै सद्भाव कायम गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी बाह्य लगानीको कल्पना गर्न सक्दैनौ । सरकारलाई पूर्ण विश्वास गरेर हिड्न सक्ने अवस्था छैन । अबको विकल्प भनेको सद्भाव कायम गरेर सच्चिएर अघि बढ्न प्रेरित गर्नु हो ।’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले जे चिजको सम्भावना छ त्यसको सम्भावनामा खोजी गर्नु पर्नेमा जोडदिनुभयो । उहाँले भाषणमा होईन अब एक्सनमा काम गर्ने समय आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य किशोर आचार्य, जिल्ला उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ,रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजुल मियाँ ,नेपाल पत्रकार महासंघ पाल्पाका उपध्यक्ष बन्दना पोखरेल लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले सञ्चालन गरेका कार्यक्रम र भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो । संघले छोटो समयमै सबैको साथ र सहयोगले महासंघको सदस्यता प्राप्त गर्न सफल भएको बताउनुभयो । रामपुर नगर संगै कालीगण्डकी उपत्यकाको पहिचानका लागि संघले अनवरत रुपमा प्रयत्न गर्दै आएको बताउनुभयो ।

। कार्यक्रमको अवसरमा संघको नवनिर्मित प्रशासन भवन उट्घाटन समेत गरिएको छ । कार्यक्रमको अवसरमा पूर्व पदाधिकारी एवं भवन निर्माणमा सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्नु भएको हो ।