पाल्पा — रामपुरमा भोलि आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता का सबै तयारी पूरा भएका छन्। जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ। आयोजक ज्योतिपुञ्ज युवा क्लब ले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफी र जर्सी सार्वजनिक गरेको थियो। कार्यक्रममा क्लबका अध्यक्ष सुन्दर राना, खेल संयोजक अनिल शाही, पूर्व अध्यक्ष सुदिप गौतम, टिम कोच केशव श्रेष्ठ र टिम क्याप्टेन विजय मल्लको उपस्थिति रहेको थियो।
कालीगण्डकी वेशी क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा परिचित ज्योतिपुञ्ज कप यस वर्ष “फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईंको योगदान” भन्ने नाराका साथ आयोजना गरिएको हो। अध्यक्ष रानाले यस वर्षको संस्करण विगतको भन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउन विशेष तयारी गरिएको बताउनुभयो।
खेल संयोजक शाहीका अनुसार प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित १० समूह सहभागी हुनेछन्। सहभागी टोलीहरूमा —
- आयोजक ज्योतिपुञ्ज युवा क्लब,
- अभिषेक चर्च रजहर (नवलपुर),
- न्यू युथ युनियन क्लब (तानसेन),
- सम्पूर्ण युथ क्लब (रुपन्देही),
- भैरव स्पोर्ट क्लब (नवलपरासी),
- सूर्यपुर फुटबल क्लब (चितवन),
- होराइजन क्लब (वालिङ्, स्याङ्जा) र
- देवदह ब्वाइज (रुपन्देही)
सामेल हुनेछन्।
उद्घाटन खेल आइतबार दिउँसो १ बजे अभिषेक चर्च नवलपुर र न्यू युथ युनियन क्लब तानसेन बीच हुनेछ।
प्रतियोगिताको विजेताले रु. ३ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २ लाख पाउनेछन्। सेमिफाइनल पराजित टोलीलाई जनही रु. २५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु. १७ हजार, र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, इमर्जिङ प्लेयर तथा उत्कृष्ट कोचलाई जनही रु. ८ हजार पुरस्कार दिइनेछ।
पूर्व अध्यक्ष तथा आर्थिक संयोजक सुदिप गौतम का अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब रु. ३० लाख खर्च हुने अनुमान गरिएको छ। रामपुरलाई फुटबल हबको रूपमा विकास गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो।
प्रतियोगिताको मुख्य प्रायोजक वाइवाइ रहेको छ। साथै गण्डकी वेशी क्षेत्रका विभिन्न व्यक्ति, संघसंस्थाहरू र स्थानीय स्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
दर्शकका लागि विशेष व्यवस्था गरिएको छ — १० वर्षमुनिका बालबालिका, अशक्त र ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेश दिइनेछ भने अन्यका लागि प्रवेश शुल्क लाग्नेछ।
खेलका लागि किसानबारी खेल मैदानलाई घेराबारसहित व्यवस्थित पारिएको छ। दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरी खेल अवलोकनलाई सहज बनाइएको आयोजकले जनाएको छ।
कार्यक्रम क्लब अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा र सल्लाहकार धुर्ब पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो।





