पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको सन्देश फैलाउने माध्यमका रूपमा खेलकुदको महत्व उल्लेख गर्नुभयो। उहाँले रामपुरमा सुरु भएको फुटबल मैदान निर्माण अभियानले स्थानीय गौरव र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले गर्नुभएको थियो।
उपाध्यक्ष सोम बहादुर श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण पौडेलले क्लबको पृष्ठभूमि र स्थापना उद्देश्य प्रस्तुत गर्नुभयो।
त्यस्तै, सल्लाहकार धुर्ब पोखरेल र सदस्य खुम सारुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
उद्घाटन खेलमा न्यु युथ युनियन तानसेन, पाल्पा र अभिषेक चर्च रजघर, नवलपुरबीच प्रतिस्पर्धा भएको थियो। खेल रोमाञ्चक बनेको थियो, जहाँ अभिषेक चर्च रजघरले ३–२ गोल अन्तरको जित निकाल्दै विजयी सुरुवात गरेको छ।
यसैबीच, खेलको म्यान अफ द म्याच पुरस्कार होराइजन डेण्टलले प्रायोजन गरेको थियो। जसको हकदार अभिषेक चर्च रजहरका खेम आलेले दुई गोल गरि प्राप्त गर्नु भएको छ ।
भव्य उद्घाटनका साथ सुरु भएको प्रतियोगितामा विभिन्न ठाउँका उत्कृष्ट टिमहरूको सहभागिता रहने छ। आयोजक ज्योतिपुञ्ज युवा क्लबका अनुसार, खेलकुदमार्फत युवामा सकारात्मक सोच, आपसी सहयोग र स्थानीयस्तरमा फुटबल प्रतिभा पहिचान गर्ने उद्देश्य प्रतियोगिताको मूल केन्द्रमा रहेको छ।
उद्घाटन समारोहमा रामपुरका स्थानीयवासी, खेलप्रेमी युवाहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले सम्पूर्ण रामपुरलाई उत्साह र खेल स्पीडले भरिएको बनाएको छ ।







