रामपुर, पाल्पा ।
“हराएको मुस्कान फर्काउने हाम्रो प्रयास” भन्ने मूल नारासहित होराइजन डेन्टल क्लिनिक, रामपुर पाल्पा र ट्राभल डेन्टिस्ट्री नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको निःशुल्क (नकली दाँत) शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको यस शिविरमा रामपुर नगरपालिका, रम्भा, निस्दी, बौदीकाली, चापाकोट र घिरिङ गाउँपालिकाका बृद्ध–बृद्धाहरूले निःशुल्क दात सेवा प्राप्त गरेका छन्। शिविरमा हालसम्म २६ जना वृद्धवृद्धाहरूले सेवा लिएका छन्।
शिविरमा काठमाडौं सहित देशका विभिन्न स्थानबाट आएका दन्त चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। सेवामा डॉ. शंकर श्रेष्ठ (अध्यक्ष, ट्राभल डेन्टिस्ट्री नेपाल), एसोसिएट प्रोफेसर डॉ. वर्षा घिमिरे, डॉ. रेवन्त राजभण्डारी, डॉ. प्ररेणा श्रेष्ठ, डॉ. सलिजा थापा, डॉ. रचना राणा लगायत छ जना ल्याब टेक्निसियनहरू संलग्न रहनु भएको थियो ।
डॉ. शंकर श्रेष्ठका अनुसार, यस्ता दात शिविरहरूले दाँत हराएका वृद्धहरूमा पुनः मुस्कान ल्याउन, खाना चपाउन सहज बनाउन र उनीहरूको जीवनलाई अझ सुखद र स्वास्थ्यपूर्ण बनाउन मद्दत पुर्याउँछन्। उहाका अनुसार बुढेसकालमा दाँत हराउनु एक सामान्य समस्या हो, जसले खानपान, बोल्ने तरिका, मुस्कान र आत्मविश्वासमा प्रत्यक्ष असर पार्छ। त्यसैले यस्ता डेंचर शिविरहरू वृद्ध नागरिकहरूको जीवनमा ठूलो सहारा बन्न सक्ने बताउनु भएको छ।
दात लगाएपछि वृद्धहरूलाई खाना चपाउन सजिलो हुने भएकाले पाचन प्रणाली सुधार हुन्छ र शरीरलाई आवश्यक पोषण प्राप्त गर्न मद्दत पुर्याउँछ। यसले आत्मविश्वास र मुस्कान दुवै फर्काउने काम गर्छ। दाँत हराउँदा बोल्न र हाँस्न संकोच हुने समस्या डेंचरले हटाइदिन्छ र उनीहरूलाई सामाजिक जीवनमा पुनः सक्रिय बनाउँछ। साथै, सही चपाइका कारण पाचन राम्रो भई पेटसम्बन्धी समस्या घट्ने, मुखको स्वच्छता कायम रहने र दुर्गन्ध जस्ता समस्या घट्ने चिकित्सकहरूको भनाइ छ।
निःशुल्क वा कम लागतमा आयोजना गरिने यस्ता शिविरहरूले ती वृद्धहरूलाई राहत पुर्याउँछन्, जो निजी क्लिनिकमा उपचार गर्न नसक्ने अवस्थामा हुन्छन्। यसले चिकित्सक र समुदायबीच आत्मीय सम्बन्ध पनि मजबुत बनाउँछ। वृद्धहरूलाई माया, स्नेह र हेरचाहको अनुभूति दिलाउँछ, जसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
दात शिविर केवल उपचार मात्र होइन, मुस्कान र आत्मसम्मान फर्काउने अभियान हो। यसले वृद्ध नागरिकहरूको जीवन सहज, स्वस्थ र खुसी बनाउन उल्लेखनीय योगदान पुर्याएको छ।




