स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङा र पाल्पाको रम्भा गाउँपालिकाको असेर्दी सङ्गमस्थल उत्तरवाहिनी क्षेत्रमा चलिरहेको दामोदर धर्मोत्सवको मौलिकता र औचित्यता बारे थप बहस एवम् प्रचारप्रसार भईरहेको छ ।महामेलालाई अन्तर्राष्ट्रिय स्तरको महामेलाको रूपमा बुझिएको छ । ‘उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सव’ २०८२ धार्मिक एवम् आध्यात्मिक महोत्सवको रुपमा हेरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले जानकारी दिनुभयो ।
चैतन्यका अनुसार नेपाल तीर्थै तीर्थको देश हो, यहाँ छिमेकी देश भारतमा जस्तै अनेकौं तीर्थस्थलहरू छन् तर व्यवस्थित प्रचारप्रसार हुन नसक्दा ठूला आध्यात्मिक महत्त्वका क्षेत्रहरू पनि ओझेलमा परेका छन् ।” नेपालको महिमा तथा कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्ने योजना बनाएर राष्ट्रियरूपमा दोस्रोपटक र अन्तर्राष्ट्रियरूपमा पहिलो दामोदर धर्मोत्सव गरिएको उहाँले बताउनुभयो ।
कालीगण्डकीको पवित्र तट दामोदरमास (कार्तिक महिना)मा दामोदर महोत्सव २०५९ सालदेखि नै चल्ने गरेको छ । उत्तरवाहिनी क्षेत्रमा हुन लागेको दामोदर महोत्सव यो वर्ष २४औं वर्षमा पुगेको छ। यसको निरन्तरताको लागि समेत मौलिक ढंगले दामोदर धर्मोत्सव गरेको उहाँको भनाई छ ।
महामेला अवधिभर ५ अर्ब तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवा लाख शालिकराम भगवानको अभिषेक पूजन, जल यातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गाआरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा आशीर्वचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, तपर्ण, परिक्रमा एवम् तीर्थ श्राद्ध, श्रीकृष्णलीला, गौरलीला तथा रामलीला, योग, हरिनाम संकीर्तन, एवम् मातापिता पूजन लगायतका कार्यक्रमहरु चलिरहेको आयोजकले जानकारी दिएको छ ।
महामेलामा विभिन्न देश तथा स्वदेशका विभिन्न जिल्लाबाट भक्तजनहरुको उपस्थित भईरहेको छ ।
















