वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर फाइनलमा प्रवेश

बोली खबर   २०८२-०७-०२

वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा अग्रता युनाइटेडले लिँदै १३औं मिनटमा एरोन थापाले गोल गर्नु भएको हो । ५७ औं मिनेटमा अभिषेक चर्चका लागि बिक्क चौधरीले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । थपिएको समयमा समेत गोल हुन नसकेपछि टाइब्रेकरमा युनाइटेड युथले नतिजा आफ्नो पोल्टामा पारेको हो ।

खेलमा युनाइटेड युथका गोलरक्षक निशान राना प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार प्राप्त गर्नु भएको छ  । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच युनाइटेड युथका जेबिन लामिछाने घोषित हुँदै गिफ्ट हृयाम्पसर पाउनु भएको छ।

प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर पाल्पा र देवदह ब्वाइज, देवदह, रूपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभएको छ ।

रंगशाला निर्माण गर्ने उद्देश्यले ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाले राखेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ ।

उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक ३ गते हुने ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले बताउनु भएको छ ।


शनिबार खेल ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षता र चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँणले नदीले चापाकोट र रामपुरको सिमा निर्धारण गरेपनि सामाजिक, संस्कृतिक पक्ष संगै विकासमा सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले रामपुरमा खेलकुद पूर्वाधार निर्माण हुनु चापाकोटको लागि पनि गौरवको कुरा भएको बताउँदै रंगशाला निर्माणमा चापाकोट नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।