पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक गोल गरे भने देवदहका सुरज चौधरीले दुवै गोल गरे। निरज चौधरी ‘प्लेयर अफ दि म्याच’ बनेर नगद ३ हजार प्राप्त गरे भने सुमित श्रेष्ठ ‘रेडबुल इनर्जेटिक प्लेयर’ बने।
आजको खेलमा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना प्रमुख अतिथि रहनु भएको थियो। उहाँले खेलकुदले राष्ट्रको पहिचान उजागर गर्न मद्दत पुर्याउने बताउनुभयो।
फाइनलमा ज्योतिपुञ्जले सोमबार डिफेन्डिङ च्याम्पियन युनाइटेड युथ क्लब गिरुवारी, नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ। विजेताले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्।
‘फुटबल खेलमैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने नाराका साथ प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ।




