युवाहरूको उत्साहमा देउसी–भैलो कार्यक्रम भव्य रूपमा उद्घाटन

बाेलीखबर   २०८२-०७-०४

पाल्पा — नयाँ सोच र उर्जाका साथ अघि बढिरहेका Gen–Z उमेर समूहका युवाहरूले आयोजना गरेको देउसी–भैलो कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्यु द्वारा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालकै मौलिक संस्कृति, कला र परम्पराको जगेर्ना गर्न युवा पुस्ताले लिएको अग्रसरतालाई उच्च मूल्याङ्कन गर्दै, “संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो, र यसरी युवाहरूले अगाडि आएर परम्परालाई निरन्तरता दिनु राष्ट्रका लागि गर्वको विषय हो,” भन्दै शुभकामना दिनु भएको छ।

“नयाँ ऊर्जा, नयाँ सोच — संस्कृतिको संरक्षण हाम्रो पहिचान” भन्ने मूल नाराका साथ अघि बढाइएको यो देउसी–भैलो कार्यक्रमले नयाँ पुस्तामा परम्पराप्रतिको मोह र जिम्मेवारीबोध जगाउने उद्देश्य राखेको आयोजक सदस्य अनुप काफ्लेले बताउनु भएको छ ।

आयोजक सदस्य सौरभ घिमिरेका अनुसार कार्यक्रम मार्फत देउसी–भैलोको मौलिकतालाई आधुनिक प्रस्तुतीसँग जोड्दै सांस्कृतिक एकता, सामुदायिक सद्भाव र मनोरञ्जनको वातावरण सिर्जना गर्ने लक्ष्य लिइएको हो।
बिहान देखि नै रमाइलो माहोलमा सुरु भएको कार्यक्रममा स्थानीय बालबालिका, विद्यार्थी, अभिभावक र समाजका अग्रजहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

यस अवसरमा देउसी–भैलोका सहभागीहरूले आफ्ना आकर्षक नृत्य, गीत र नाट्य प्रस्तुतिहरू मार्फत नेपाली परम्पराको सुन्दरता झल्काएका थिए। सांस्कृतिक पोशाक, दीपको झिलिमिली र उत्सवमय बजारको वातावरणले सम्पूर्ण कार्यक्रम स्थल उज्यालो र रौनकपूर्ण बनेको थियो।

कार्यक्रमका अन्त्यमा आयोजक समितिका तर्फबाट सम्पूर्ण सहयोगी, अतिथि, दर्शक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक नवप्रयासहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

युवाहरूको नयाँ सोच र ऊर्जा मार्फत परम्पराको निरन्तरता दिने यो पहलले समाजमा सकारात्मक सन्देश दिएको छ —
“संस्कृतिको जगेर्ना नै हाम्रो गौरव, हाम्रो पहिचान।” हुने छ ।