पाल्पामा गोवर्धन पूजा तथा म्ह पूजा सम्पन्न : संस्कृतिको संरक्षण र कृतज्ञताको पर्व

  २०८२-०७-०६

रामपुर (पाल्पा) — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पाल्पासहित देशभर गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा धर्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष मनाइने गोवर्धन पर्वमा घर–आँगन लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वमा गोवर्धन पर्वत, राजा बली, गोरु र हलो जोत्ने किसानको पूजा गरी सम्मान व्यक्त गर्ने गरिन्छ।

धर्मशास्त्रका अनुसार, द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो हातको कान्छी औला गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा यो पर्व मनाउने प्रचलन बसेको हो। त्यसैको स्मरणमा आजका दिन गाईको गोबरको गोवर्धन पर्वत बनाई पूजा गर्ने परम्परा निरन्तरता दिइँदै आएको छ। यसै बिचमा आज रामपुर नगर गौशालामा पनि विधि पुर्वक गोबर्धन पुजा गरिएको छ ।

गाईको पूजा गरी साउन शुक्ल पूर्णिमामा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले आत्मालाई वैतरणी नदी पार गराउने धार्मिक विश्वास रहेको बताइन्छ।

वर्षभर खेतमा मेहनत गर्ने गोरु र हलो जोत्ने किसानप्रति कृतज्ञता प्रकट गर्न आज विशेष पूजा गरी मीठा–मीठा परिकार खाने र खुवाउने चलन रहिआएको छ। रामपुर नगरपालिका–६ तातोपानीस्थित नगर गौशालामा पनि आज गोवर्धन पूजा विशेष रूपमा सम्पन्न गरिएको छ।

नेपाल संवत् ११४६ सुरु — नयाँ वर्षको उत्सव देशभर

यसै अवसरमा आजबाट नेपाल संवत् ११४६ सुरु भएको छ। नयाँ वर्षको अवसरमा देशभर विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ।

इतिहासका पृष्ठमा उल्लेख भएअनुसार, राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको रूपमा प्रयोगमा रहेको थियो ।

नेवार समुदायमा म्ह पूजा विशेष

यसैबीच, आजकै दिन नेवार समुदायले म्ह पूजा (आत्मा पूजा) विशेष रूपमा मनाइरहेका छन्। कार्तिक शुक्ल प्रतिपदाका दिन आत्माको पूजा गर्ने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार, मानव शरीर र आत्मा दुवै पवित्र मानिन्छन्, र आत्मालाई सन्तुष्ट राख्न सके देवी–देवता पनि प्रसन्न हुने धार्मिक विश्वास रहिआएको छ।
म्ह पूजामा व्यक्तिले आफैंलाई पूजा गरी आफ्नो आत्मा र जीवनप्रति कृतज्ञता व्यक्त गर्छन्।