पाल्पा । हरिबोधनी एकादशीको अवसरमा शनिबार कालीगण्डकी नदी किनारका विभिन्न तटीय क्षेत्रमा भव्य मेला लागेको छ। धार्मिक आस्थाका साथ विहानैदेखि भक्तजनहरू स्नान र दर्शनका लागि नदी किनारमा लाम लागेका थिए।
कालीगण्डकीमा यस दिन स्नान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासका साथ पाल्पा, स्याङ्जा, नवलपुर लगायतका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू नदी किनार पुगेका थिए।
तीन जिल्लाको संगमस्थल रिडी, सेतीवेनी, रानीमहल, राम्दी, हुँगी,उत्तरबाहिन भुजात, तातोपानीधाम, ज्याग्दी, रामघाट, केलादी, बैडी, बालीघाट, देवघाट लगायतका घाटमा यस अवसरमा मेला लागेको थियो।
परम्परागत रूपमा हरिबोधनी एकादशीमा नदी माथि बाँबियो, खर तथा तामाको तोरण तार्ने प्रचलन रहँदै आएको छ। यस्तो तोरण तारेमा परिवारमा सुख–शान्ति प्राप्त हुने र पितृ आत्माको उद्धार हुने धार्मिक विश्वास रहेको छ। यसैअनुसार उत्तरबाहिनिमा पाँच वटा तोरन तारीएको छ । यस वर्ष केलादी घाटबाट सातवटा तोरण तारिएको छ । तीमध्ये पाँच वटा सदियौंदेखि तोरण तारिँदै आएको स्थानबाट र दुई वटा मोटरेबल पुलमार्गबाट तारिएको भक्तजनहरुले जानकारी दिनुभयो।
तोरण तार्ने क्रममा पञ्चे बाजा, भजन–कीर्तनले सम्पूर्ण वातावरण गुन्जायमान बनेको थियो। मौलिक परम्परालाई निरन्तरता दिँदै शान्ति र मानव कल्याणको कामना स्वरूप यस वर्ष पनि संस्था मार्फत तोरण तारिएको हो।
मेलामा सखरखण्ड, तरुल, सुन्तला, केरा, उखु लगायत स्थानीय फलफूलका साथै नवलपुर र धादिङबाट ल्याइएका बाँसका सामग्री — नाङ्गलो, डालो, भकारी, माटाका भाँडाकुडा, फलामका औजार र कुचो आदिको व्यापारसमेत गरिएको थियो।
भक्तजनहरू स्नान, दर्शन, तोरण तार्ने र भजन–कीर्तनमा सहभागी हुँदै धार्मिक उल्लासका साथ हरिबोधनी एकादशी मनाएको स्थानीयहरूले बताएका छन्।





