पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले गत जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट भदौ २३ र २४ गतेको आन्दोलनका बेला फरार रहेका पूर्वखोला गाउँपालिका–३ निवासी ३५ वर्षीय रुद्र प्रसाद न्यौपानेलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको हो।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका बन्दी न्यौपानेलाई इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट खटिएको प्रहरी टोलीले उनी आफ्नै घरमा लुकीबसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका अभियुक्तहरूको खोजी र पक्राउ अभियान निरन्तर सञ्चालनमा रहेको छ। यसअघि पनि प्रहरीले तानसेन, बगनासकाली र माथागढी क्षेत्रबाट फरार केही अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बाँकी फरार अभियुक्तहरूलाई समेत चाँडै पक्राउ गर्ने लक्ष्यसहित खोजी तीव्र पारेको जनाएको छ।


