कानुनी पहिचान (जन्मदर्ता र नागरिकता) सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम रामपुरमा

बोली खबर   २०८२-०७-२६

पाल्पा, कानुनी पहिचान (जन्मदर्ता र नागरिकता) सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम रामपुरमा भएको छ । नागरिकलाई जन्मदर्ता संगै नागरिकताको सिफारिस प्रदानको क्रममा देखिएका समस्या र समाधानका कानुनी उपायको बारेमा जानकारी दिने उद्देश्यका साथ अन्तरक्रिया भएको हो ।महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) को आयोजना र रामपुर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । नगर प्रमुख थापाले जन्मदर्ता र नागरिकता नागरिकको जन्मसिद्ध अधिकार भए पनि कानुनी जटिलताका कारण कतिपय नागरिकले अझै पनि कानुनी पहिचान प्राप्त गर्न नसकेको बताउनुभयो ।

समस्या समाधानका लागि सरकारले निर्माण गरेको नयाँ ऐन अनुसार अधिकारको पूर्ण सदुपयोग गर्दै कानुनी पहिचान प्रदानमा प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधि र स्थानीय पञ्जिकाधिकारीहरुलाई आग्रह गर्नुभयोकतिपय अवस्थामा प्रचलित ऐन र कानुनको बारेमा स्पष्ट ज्ञान नहुँदा समस्या भैरहेको सन्दर्भमा महिला, कानुन र विकास मञ्चले दिएको साथको प्रशंसा गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अन्तरक्रियात्मक छलफल कार्यक्रमले कानुनी पहिचानको अधिकारको संरक्षण संगै समस्याको समाधानका लागि महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी अधिकृत अधिवक्ता सविन श्रेष्ठले जन्मदर्ता र नागरिकता सिफारिसको क्रममा देखिएको समस्या र समाधानको कानुनी प्रक्रियाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले विद्यमान घटना दर्ता, नागरिकता ऐनमा रहेको व्यवस्था संगै नागरिकता ऐनको दोस्रो संशोधनमा थप भएका कानुनी व्यवस्थाको बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएका नागरिकता सिफारिसको प्रक्रिया र घटना दर्ताको क्रममा देखिएका समस्याको कानुनी उपचारको विषयमा उहाँले जवाफ दिनु भएको थियो । महिला, कानून र विकास मञ्चका सूचना अधिकारी विनोद चन्द्र देवकोटाले नागरिकलाई सहज रुपमा कानुनी पहिचान प्रदानका लागि विद्यमान व्यवस्थाको बारेमा जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार रामपुरमा महिला, कानुन र विकास मञ्चले कानुनी पहिचान (जन्मदर्ता र नागरिकता) सम्बन्धमा बुधबार समुदाय सचेतना कार्यक्रम सञ्चालन गर्दैछ । साथै बिहिबार समस्यामा रहेका नागरिहरुलाई बस्तीहरुमा पुगेर घुम्ती कानुनी परामर्श सेवा प्रदान गर्नेछ रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम महिला, कानून र विकास मञ्चका सूचना अधिकारी विनोद चन्द्र देवकोटाको स्वागत बाट सुरु भएको थियो ।

नमस्ते होटलको सभाहलमा भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले गर्नु भएको हो ।