प्रदेश बजेट पर्यटकीय पूर्वाधार योजनाको सर्वेक्षण सम्पन्न

बोली खबर   २०८२-०७-२६


पाल्पा, रामपुर ।
रामपुर नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा विकास र पर्यटन प्रवर्द्धनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट प्राप्त बजेट अन्तर्गतका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा पूर्वाधार योजनाहरूको सर्वेक्षण कार्य हालै सम्पन्न भएको छ।
यो कार्य लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठज्यूको निरन्तर पहल र सक्रिय नेतृत्वमा, पर्यटन डिभिजन कार्यालय, भैरहवाले सम्पन्न गरेको हो।
सम्पन्न सर्वेक्षण अन्तर्गतका योजनाहरूमा रामपुर–६ गैशालामा पूर्वाधार निर्माण, रामपुर–५ श्रीराम–लक्ष्मण तीर्थस्थल रामघाटमा पर्यटकीय पूर्वाधार निर्माण, रामपुर–६ ज्याग्दी सामुदायिक वनमा उद्यम–पर्यटन पूर्वाधार निर्माण, रामपुर–३ रातोढिक पार्क तथा पारिस्थितिक पर्यटन अधुरो निर्माण कार्य, रामपुर–३ बादरे आमँ पार्क निर्माण, रामपुर–४ रामपुर नेवा सांस्कृतिक संग्रहालयको अधुरो भवन निर्माण, र रामपुर–५ वरुणेश्वर महादेव मन्दिरको पूर्वाधार तथा मन्दिर निर्माणजस्ता परियोजनाहरू समावेश भएको माननीयका सोकिय सचिब सन्देश ढकालले जानकारी गराउनु भएको छ ।


यी योजनाहरू सम्पन्न भएपछि रामपुरको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामा आधारित पर्यटनको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। विशेषगरी रामघाटस्थित श्रीराम–लक्ष्मण तीर्थस्थल, वरुणेश्वर मन्दिर, र बादरे आमँ पार्क जस्ता स्थानहरू धार्मिक र आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन्।


स्थानीय बासिन्दाहरूले पनि यी योजनाबाट क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा राखेका छन्। पर्यटनसँगै रोजगारीका अवसर सिर्जना हुने, स्थानीय उत्पादकहरूको बजार विस्तार हुने र रामपुरलाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने लक्ष्य राखिएको छ।
यसैबीच, पर्यटन डिभिजन कार्यालय, भैरहवाका अधिकारीहरूका अनुसार अझ केही नयाँ योजनाहरूको सर्भे र इस्टिमेट तयारी कार्य पनि जारी छ। यी योजनाहरू पूरा भएपछि रामपुर नगरपालिकाको समग्र विकासमा सन्तुलन र दिगोपनाको सुनिश्चितता हुने विश्वास लिइएको छ।
प्रदेश सरकार, स्थानीय तह र सरोकारवालाहरूको सहकार्यमा अघि बढाइएका यी विकासका अभियानहरूले रामपुरलाई धार्मिक, सांस्कृतिक र पारिस्थितिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।