पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।
तानसेनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जनप्रदर्शनको तयारीबारे जानकारी दिँदै नेकपा (एमाले) पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले कार्यक्रमका सबै तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक २९ गते दिउँसो १ बजे तानसेन टुडिखेलबाट सुरु हुने जनप्रदर्शन बजार परिक्रमा गर्दै सम्पन्न हुनेछ । हजारौंको सहभागिता रहने जनप्रदर्शनलाई पूर्णरूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई पाल्पामा शान्तिपूर्ण बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्न र गैरसंवैधानिक सरकारलाई वैधानिक बनाउनुपर्ने मागसहित जनप्रदर्शन आयोजना गरिएको बताउनुभयो ।
गैरेका अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कानूनी कारबाही गर्नुपर्ने माग एमालेको रहेको छ । उहाँले अहिलेको सरकार जनविरोधी भएको आरोप लगाउँदै “जनताको हितमा विनियोजित बजेट कटौती गरिएको छ, युवाहरू रोजगारका लागि विदेश जान बाध्य भएका छन्,” भन्दै सरकारको जनविरोधी नीति व्यवहारको आलोचना गर्नुभयो ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन गराउने पक्षमा अहिलेको सरकार नरहेको बताउँदै गैरेले मुलुकलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार संविधान संशोधन गरेर वर्तमान सरकारलाई वैधानिकता दिनुपर्ने भएकाले प्रतिनिधि सभा आवश्यक छ र यही सन्देश जनतासम्म पुर्याउन जनप्रदर्शनको आयोजना गरिएको हो ।
गैरेले मंसिर ६ गते काठमाडौंमा एमालेले बृहत जनप्रदर्शन र जनभेला आयोजना गर्ने जानकारी पनि दिनुभयो । “भयरहित वातावरणमा चुनाव हुने ग्यारेन्टी भए मंसिरमै चुनाव गर्न हामी तयार छौं,” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनको अध्यक्षता प्रचार तथा प्रकाशन विभागका प्रमुख दीपक विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा एमाले पाल्पाकी उपप्रमुख मिलन विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रेखिराम रानाले गर्नुभएको थियो ।
एमालेले यसअघि कात्तिक २२ गते वडास्तर र २५ गते पालिका स्तरमा भेला तथा बैठकहरू सम्पन्न गरिसकेको जनाइएको छ ।
विज्ञप्तिमा सम्पूर्ण न्यायप्रेमी पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जनप्रदर्शनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।




