पाल्पा, रामपुर ।
रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ। कार्तिक २८ गते रामपुर नगरपालिका–७ रातमाटामा आयोजना सुरु हुने स्थानमै विशेष कार्यक्रम आयोजना गरी निर्माण कार्यको शुभारम्भ गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ, सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शुभारम्भ कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले उक्त सडकलाई यो क्षेत्रको गौरवको योजनाको रूपमा आफूले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले सडक निर्माण सम्पन्न भएसँगै रातमाटा क्षेत्रको यातायात, व्यापार, पर्यटन र सामाजिक–आर्थिक गतिविधिमा नयाँ गति आउने विश्वास व्यक्त गर्नुभयो।
यस योजनालाई बहुवर्षीय कार्यक्रमका रूपमा अघि बढाइएको छ।
सडक डिभिजन कार्यालयका प्रमुख बासुदेव भण्डारीका अनुसार:कुल लागत: रु. ३ करोड ८४ लाख ६२ हजार ६ सय ६२ रहेको छ जसमा ठेक्का सम्झौता मिति: २०८१ कार्तिक १५ रहेको छ ।ठेकेदार कम्पनी: पशुपति मोबाइल जेवी कन्स्ट्रक्सन प्रालि २०८४ साल कार्तिक १५ सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।प्रमुख भण्डारीको अनुसार यो आर्थिक वर्षमा नाली निर्माण, वाल निर्माण लगायतका प्रारम्भिक संरचना निर्माणका लागि रु. ६५ लाखमा सम्झौता भई काम सुरु गरिएको हो। आयोजनाअन्तर्गत जम्मा २६४५ मिटर सडक कालोपत्रे तथा १६० मिटर ढलान निर्माण गरिने कार्यालयले जनाएको छ।
सडक निर्माण सम्पन्न भएपछि रातमाटा, कठान, गैटार, प्याक्लुक क्षेत्रका बासिन्दाले कालीगण्डकी पक्की पुल हुँदै सहज यातायात सुविधा पाउने तथा क्षेत्रीय विकासमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।


