पाल्पा ।
नेकपा (एमाले) पाल्पाले शनिबार बृहत् जनप्रदर्शन सम्पन्न गरेको छ। जिल्लाका ८१ वटै वडाबाट जुटेका नेता, कार्यकर्ता र सर्वसाधारण गरी करिब १० हजारभन्दा बढी सहभागी उक्त जनप्रदर्शनको मुख्य विषय प्रतिनिधि सभाको पुनर्स्थापना र जेनजी आन्दोलनको घटनाको निष्पक्ष छानबिन रहेको थियो।
तानसेनको टुडिखेलबाट सुरु भएको जुलुसले बजार परिक्रमा गर्दै विरोधसभामा परिणत भएको थियो। सभाको सम्बोधन गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले वर्तमान सरकारले वैधानिकता गुमाइसकेको दाबी गर्नुभयो।
“जेनजीले नै राजीनामा माग गरिसकेका छन्, त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना गरेर वैधानिकता कायम गर्नुपर्छ,” उहाँले भन्नुभयो। गैरेले जेनजीको माग सम्बोधन गर्न जेनजीसहितको सर्वदलीय–सर्वपक्षीय सरकार गठन आवश्यक भएको पनि बताउनुभयो।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले संविधान र लोकतन्त्रको रक्षा गर्न अब जनता जाग्नुपर्ने समय आएको उल्लेख गर्नुभयो।
त्यसैगरी जेनजी तर्फबाट सन्देश ढकाल र इन्दु गाहाले देशमा परिवर्तनको नेतृत्व एमालेले गर्ने विश्वास व्यक्त गर्दै विधानलाई समयअनुकूल परिमार्जन गरिए जेनजीलाई नेतृत्व तहमा ल्याउनुपर्ने सुझाव राखे।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो।
जनप्रदर्शनमा १० हजारभन्दा बढी सहभागी रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताएका छन्।




