पाल्पा रामपुरका ३ वर्षीय फैजान खानको उपचारमा आर्थिक संकट, सहयोगका लागि अपिल

बोली खबर   २०८२-०८-०१

पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ।

फैजानका अभिभावक असरफ मियाँआसिया खातुनका अनुसार छोराको स्वास्थ्य लगातार जटिल बन्दै गएपछि चिकित्सकहरूले बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने निष्कर्ष निकालेका छन्। यो प्रक्रिया अत्यन्तै जटिल र महँगो भएकाले परिवार आर्थिक रूपमा असहज बनेको छ।

हाल कतारमा वैदेशिक रोजगारमा रहेका बुवा असरफ मियाँको आम्दानीबाटै परिवारको खर्च धानिँदै आएको भए पनि भारतमा पटक–पटक गरिरहेको परीक्षण र उपचार खर्चले परिवार थिचिएको आमा आसिया खातुनले बताइन्। उनका अनुसार पाँच पटकसम्म दिल्लीमा परीक्षण गराइसकेपछि अब प्रत्यारोपणको तयारी भइरहेको छ।

चिकित्सकहरूले प्रत्यारोपणका लागि फैजानकी ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको बताएका छन्, जसले सफल प्रत्यारोपणको सम्भावना बढाएको छ। तर अत्यधिक खर्चका कारण उपचार रोकिएको आमा आसिया खातुनको भनाइ छ।

तपाईंहरूको सानो सहयोगले मेरो छोराको जीवन बच्न सक्छ। कृपया आर्थिक सहयोग गरेर यो कठिन घडीमा साथ दिनुहोस्,” आमा खातुनले अनुरोध गरिन्।

यसैबीच रामपुर नगर क्षेत्रका सामाजिक अभियन्ता र स्थानीय व्यक्तित्वहरूले पनि फैजानको उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन्।

सहयोग गर्न सकिने माध्यमहरू

आमा आसिया खातुन: ९७०२७३९६९८ / ९१-८४४८४६७५९३
ग्लोबल आईएमई बैंक, रामपुर शाखाखाता नं.: ०३३०७०१०११६०१५ (असरफ मियाँ)
फोटोमा रहेको क्यूआर कोड स्क्यान गरी पनि सहयोग गर्न सकिन्छ।