पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “रामपुरको सांस्कृतिक पहिचान यस किसिमका धार्मिक र सांस्कृतिक पर्वले झन बलियो बनाउँछ। विवाह पञ्चमी केवल धार्मिक पर्व होइन, यो हाम्रो एकता, श्रद्धा र परम्पराको गौरव हो।”
कार्यक्रममा सहभागीहरूले विवाह पञ्चमीलाई रामपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी राम–सीताको प्रतीकात्मक विवाह प्रदर्शन कार्यक्रम अन्तर्गत, रामपुर–५ रामघाटमा भगवान् श्रीरामलाई बेहुलाको रूपमा जन्ती यात्रा निकालिने र रामपुर–४ स्थित पवित्र सिताकुण्डमा देवी सीतालाई बेहुलीको रूपमा तयार गरी वैवाहिक संस्कार सम्पन्न गरिनेछ।
जन्ती यात्रा सुरु हुनु अघि रामपुर–५ स्थित ऐतिहासिक राम मन्दिरमा विश्राम र पूजाआराधना कार्यक्रम हुनेछ। त्यसपछि धार्मिक बाजागाजा, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित जन्ती रामघाटबाट सिताकुण्डतर्फ प्रस्थान गर्नेछ।
उक्त पर्वका क्रममा रामपुर क्षेत्रका विभिन्न जातजाति, समुदाय र धर्मका प्रतिनिधिहरूले आफ्ना परम्परागत भेषभूषा, नृत्य, संगीत र रीति–रिवाज प्रदर्शन गर्ने तयारी गरेका छन्। यसले स्थानीय सांस्कृतिक विविधता र धार्मिक सहअस्तित्वको झल्को प्रस्तुत गर्नेछ।
अन्तरक्रियामा सडक, सरसफाइ, प्रकाश व्यवस्था, सुरक्षा, जन्ती स्वागत जस्ता विषयमा सुझावहरू प्रस्तुत भए। टोल विकास संस्थाले स्वागत गेट निर्माणदेखि घरवेटि पक्षसम्मको छलफल गरी, पहिलोपटक मनाउन लागिएको विवाह पञ्चमीलाई व्यवस्थित, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
विवाह पञ्चमी पर्व राम–सीताको दिव्य प्रेम, सत्य, धर्म र कर्तव्यबोधको प्रतीकका रूपमा मनाइन्छ। मिथिला परम्परामा आधारित यो पर्व अब रामपुरमा पनि संस्कृति, श्रद्धा र सहअस्तित्वको साझा उत्सवका रूपमा रूपान्तरण हुने प्रयास गरिएको छ।
कार्यक्रममा उप–प्रमुख बाल कुमारी थापा, वडा अध्यक्ष दामोदर पाठकले बिबाह पन्चमी सबैको पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय बिपि चिन्तन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सन्दीप रानाले बिषयबस्तु माथी प्रकाश पार्दै वैदिक परम्परा अनुसार गरीरे यो बिबाह जनकपुरमा मात्र मनाइन्थ्यो तर यश बर्ष देखि पाल्पाको रामपुरमा पनि मनाउन लागेको बताउनु भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवाहरू र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको छलफलमा माइती पक्षले गर्नु पर्ने कामका बिषयमा छलफल गरीएको छ ।।
कार्यक्रमको अन्त्यमा नगर प्रमुख रमण बहादुर थापाले सबै सरोकारवालालाई धन्यवाद दिँदै, आगामी मंसिर ९ गतेको उत्सव सफल बनाउन सहयोग र एकताको भावनाका साथ अगाडि बढ्न आह्वान गर्नुभयो। अनौपचारिक कार्यक्रमको सन्चालन सितामाबिका प्रधानाध्यापक नारायण प्रसाद खनालले गर्नु भएको हो ।




