जनकल्याण माध्यमिक विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम

  २०८२-०८-०४

जनकल्याण माध्यमिक विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । साविकको हुँगी ६ मजुवा, हाल रम्भा १निवासि पिता स्व विद्याराज कडरिया तथा माता श्रीमती चन्द्र कुमारी कडरियाको सम्मानमा छोरा विनोद कडरिया तथा वुहारी श्रीमती प्रतिज्ञा पाण्डे हाल अस्टे्रलिया बाट कपडा सौजन्य गर्नु भएको छ ।
न्यानो कपडा बितरण कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापा रहनु भएको हो । नगरप्रमुख थापाले बोल्दैबिदेशमा बसेर पनि आफू जन्मेको ठाउँलाई सम्झेर सहयोग गर्नु भएकोमा खुशी व्यक्त गर्दै प्रगतिको कामना गर्नु भएको छ । उहाँले पछिल्लो समय बिदेशमा बसेर देश सकियो भन्ने र नकारात्मक टिप्पणी गर्नेहरुको बिचमा आफ्नो भुगोल र अवस्था बुझेर सकारात्मक सोचका साथ सहयोग ठुलो कुरा रहेको बताउनु भएको छ । नगरप्रमुख थापाले एक फरक प्रसङ्गमा आवश्यकता असीमित छन त्यस मध्य अत्यावश्यक आवश्यकतालाई मध्य नजर गर्दै बजेट बिनियोजन हुने बताउनु भएको छ । सिमित साधन श्रोतका बिचमा चाहेर पनि कति पय अवस्थामा बजेट बिनियोजन हुन नसकेको बताउनु भएको छ ।


न्यानो कपडा बितरणको चाजोपाजो मिलाउनु हुने रामपुर १० स्वास्थ शहरी क्लीनिक प्रमुख जगन्नाथ भण्डारीले २० हजार बराबरको कपडा खरीद गरिएको बताउनु भएको छ । उहाँले कपडा कारखानाबाट नै खरीद गरि ४५ थान स्विटर ल्याइएको बताउनु भएको छ ।
उपस्थित सबैलाइ स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक आनन्द भण्डारीले सहयोग गर्नु हुने र चाजो पाजो मिलाउनु हुने सबैलाई धन्यवाद र स्वागत गर्नु हुँदै विद्यालयका बिषयमा जानकारी गराउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले गर्नु हुँदै कपडा बितरणमा सहयोग गर्नु हुने दाता , समन्वय कर्ता लगाएत उपस्थित सबैलाइ धन्यवाद दिनु भएको छ । कार्यक्रमको संचालन शिक्षक दामोदर तिमिल्सिनाले गर्नु भएको छ । कक्षा १ देखि ५ कक्षा सम्म पढ्ने ४५ जना छात्रछात्रा न्यानो कपडा बितरण गरिएको छ ।
२०१९ सालमा स्थापना भएको जनकल्याण माबीमा हाल ३ सय ९० विद्यार्थी अध्यन गर्दै आएका छन । विद्यालयमा बालकक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।