लायन्स क्लव अफ रामपुर पाल्पाले रामपुर अस्पताललाई हस्तान्तरण गर्यो ल्याव उपकरण

बोली खबर   २०८२-०८-०६

लायन्स क्लव अफ रामपुर पाल्पाले रामपुर अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अस्पतालको प्रयोगशाला शाखामा थप सेवा सहजताको उद्देश्यले क्लवले शुक्रबार अस्पताल परिसरमै आयोजना गरिएको कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष युवराज खनाललाई उक्त ल्याब उपकरण हस्तान्तरण गरेको हो।

लायन्स क्लव अफ बुटवल स्टार्स र लायन्स क्लव अफ रामपुर पाल्पाको समन्वयमा पूर्ण स्वचालित हेमाटोलोजी विश्लेषक (अटो–लोडर), मूत्र परीक्षण मेसिन, ESR परीक्षण मेसिन, इलेक्ट्रोलाइट विश्लेषक गरी चार प्रकारका करिब ७० लाख बराबरका प्रयोगशाला उपकरण अस्पताललाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य सेवामा आवश्यक सामग्री उपलब्ध गराएर उपचार सेवामा सहजता ल्याउन क्लवले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नु भएको छ । उहाँले लायन्स अन्तर्राष्ट्रिय स्तरमै सेवा लिनेभन्दा सेवा दिने संस्कृतिको कारण चर्चित भएको भन्दै क्लवका गतिविधिहरू प्रशंसनीय रहेको बताउनु भएको छ। विगतका दिनमा संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको विभिन्न सहयोगहरुको प्रशंसा गदै विश्वमा धेरै क्लवहरुमध्ये धनी क्लव भनेर चिनिने लायन्स क्लवले सेवा लिने भन्दा दिनेमा बढि महत्व राख्ने बताउनु भयो ।हस्तान्तरण गरिएको सामग्रीले केवल रामपुरबासी मात्र नभई समग्र कालीगण्डकी बेसीका नागरिकलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

अस्पताल विकास समिति अध्यक्ष युवराज खनालले ठूलो रकम बराबरका आवश्यक उपकरण उपलब्ध भएकाले प्रयोगशाला सेवामा गुणस्तर र सहजता वृद्धि हुने विश्वास व्यक्त गर्दै क्लव प्रति आभार प्रकट गर्नु भएको छ । साथै अस्पतालबाट सहज रूपमा सेवा प्रदान गर्न कर्मचारी संख्या र व्यवस्थापन दुवै पक्षमा अझै सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा लायन्स क्लव अफ रामपुर पाल्पाका सदस्यहरू, अस्पताल विकास समितिका पदाधिकारी, जनप्रतिनिधि तथा अस्पताल कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट–चिफ लायन भोजेन्द्र प्रकाश ढकालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
लायन्स क्लव अफ रामपुर पाल्पाका अध्यक्ष लायन प्रेम प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन डिस्ट्रिक्ट सदस्य खिमबहादुर केसी (पुरुषोत्तम के.सी) ले गर्नु भएको हो ।