बिबाह पन्चमी सिताराम बिबाह तयारी पूरा

बोली खबर   २०८२-०८-०९

पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटमा बाट जन्त निकाल्ने, खाना पकाएर खाएको रामचुल्हा (राममन्दिर) बाट सगुन लिएर, भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले ठाउँमा वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको सीताकुण्डमा जन्तलाई स्वागत गरी विवाह उत्सव मनाउने भव्य तयारी गरिएको छ ।नगर प्रमुख रमण बहादुर थापाले भगवान् राम र सीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्व उजार गर्न पहिलो पटक सीताकुण्डमा विवाह उत्सवको मनाउन लागिएको जानकारी दिनुभयो । नगर भित्रका महत्वपूर्ण धार्मिक स्थलको संरक्षण संगै महिमाको प्रचार प्रसार गरी धार्मिक पर्यटन संग जोड्ने मुख्य ध्येय रहेको बताउनुभयो । रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका धार्मिक स्थलहरु रहेको छ । भगवान रामले विचरण गरेको पुण्य भूमि भएकाले सोही आधारमा रामपुर नामाकरण गरिएको हो ।

विवाह उत्सवको अवसरमा जन्त संगै सीताकुण्ड सम्म पुग्ने धर्मवालम्बीहरुको सहजताको लागि सडक मर्मत तथा गाडी पार्किङको समेत व्यवस्थापन गरिएको छ । साथै टोल विकास संस्थाहरुले विभिन्न स्थानमा पहुनाहरको स्वागतमा प्रवेश द्वार समेत निर्माण गरेको छ । धार्मिक व्यक्तित्व उवं अभियन्ता सन्दिप रानाले सीताकुण्डमा माइती पक्ष जन्त तथा भक्तजनहरुलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । विवाह मण्डप निर्माण, सीताकुण्ड मन्दिरसरसफाई संगै सजवात, स्वागत द्वार निर्माणको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । अहिले सीताकुण्ड र सीता मावि परिसर फूल माला र ध्वजा पटकाले सजिएको छ । विवाह उत्सवको तयारीका लागि स्थानीयहरु निकै उत्साहित भएर लागि रहेको बताउनुभयो । उहाँका अनुसार रामघाट र सीताकुण्डको बारेमा स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत उल्लेख भएको बताउनुभयो ।

सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाले जन्त तथा मन्दिरमा आउनुहुने भक्तजनहरुको लागि प्रसादी तथा खानाको तयारीमा स्थानीयहरु जुटिरहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने वस्तु बाटै आवश्यक खानाको परिकार तयार गरिएको बताउनुभयो । यता जन्त पक्ष रामपुर नगरपालिका–५ को रामघाट तथा राममन्दिरमा पनि आवश्यक तयारी सकिएको छ । रामघाटमा पनि पूजाको लागि आवश्यक तयारी संगै सजावतका कार्य संगै सम्पन्न भएको बेहुला पक्षका सचिवालय समिति संयोजक एवं रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो । पञ्चेबाजा र रामपुर नगर भित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी सहित सीताकुण्ड जन्त लैजाने तयारी भैरहेको छ । सचिवालय सदस्य सुराज गौतमले रामघाटमा आवश्यक तयारी भैसकेको बताउनुभयो । बेहुला पक्ष तर्फ जन्तको लागि कसार समेत तयार भैरहेको छ ।

पण्डित हरि प्रसाद खनालले विवाह पञ्चमीका दिन विहान रामघाटमा यज्ञ पश्चात ९ बजेको शुभसाइतमा चौरासी पुजा गरिसक्नु भएका जेष्ठ नागरिकहरु बाट जन्तीलाई विदाई गर्ने, राममन्दिर बाट सगुन खाएर विदाई पश्चात धार्मिक व्यक्तित्वहरु महन्त, पण्डित, बटुक सहितको पैदल सीताकुण्ड जाने कार्यक्रम रहेको बताउनुभयो । मौलिक परम्परा अनुसार जन्तलाई सीताकुण्डमा पुगेपछि माईती पक्षले पर्सिने र स्वागत पश्चात कुण्डमा पण्डितहरुको वैदिक विधि पूर्वक विवाह सम्पन्न गरिनेछ । बालनको माध्यम बाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सवको प्रदर्शन संगै अन्य जातिय झाँकी प्रदर्शनी पश्चात ३ बजे जन्त फिर्ता भै रामघाट मै आएर विवाह उत्सवको विधि पूर्वक समापन गरिने छ