पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा आगामी मंसिर १६ गतेदेखि दोस्रो भम्बक युनाइटेड कप सञ्चालन हुने भएको छ। भम्बक युनाइटेड युथ क्लब रामपुरको आयोजनामा र रामपुर नगरपालिकाको संरक्षणमा हुने क्लव–स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता मंसिर २० गतेसम्म चल्ने आयोजकले जनाएको छ।
शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। भम्बक खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति प्रेरित गर्ने र राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने क्लब अध्यक्ष बालकृष्ण कुमालले बताए।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, कास्की, नवलपुर र रुपन्देहीका उत्कृष्ट सात क्लबले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले एक टोलीमा तीन जना एनभीए कप खेलिसकेका राष्ट्रिय खेलाडी सम्मिलित गराउन पाउने व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष तथा खेल संयोजक अनुप मल्लले जानकारी दिए।
प्रतिस्पर्धी क्लबहरूमा होराइजन भलिबल क्लब (रुपन्देही), मणिमुकुन्द भलिबल क्लब (रुपन्देही), जिल्ला भलिबल संघ स्याङ्जा, जिल्ला भलिबल संघ पाल्पा, एपीएफ पोखरा, आयोजक भम्बक युनाइटेड युथ क्लब र जिल्ला भलिबल संघ नवलपुर रहेका छन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित खेलाडीहरूको समेत सहभागिता रहनेछ।
पुरस्कारतर्फ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना प्राप्त टोलीले क्रमशः २ लाख, १ लाख, ५० हजार र ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र अन्य पाँच विधामा ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको मल्लले बताए। खेल लिगकम नकआउट सिस्टममा सञ्चालन हुनेछ।
आर्थिक समितिका संयोजक राजेन्द्र मल्लका अनुसार प्रतियोगिता सञ्चालनमा १७ देखि १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खेलका लागि विभिन्न संघ–संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी दाता तथा व्यक्तिबाट आर्थिक संकलन भइरहेको जानकारी दिइयो।
दर्शकहरूको सहज अवलोकनका लागि २,५०० देखि ३,000 क्षमताको प्याराफिट निर्माण गरिएको छ। प्रवेश शुल्क सेमिफाइनलअघि १०० रुपैयाँ र सेमिफाइनल तथा फाइनलका लागि २०० रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० प्रतिशत छुट, फरक क्षमता भएका अशक्त नागरिक तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
पत्रकार सम्मेलन क्लब अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम क्लबका सल्लाहकार गोविन्द रानाको स्वागतबाट सुरु भई शालिकराम खनालले सञ्चालन गरेका थिए।




