दोस्रो भम्बक युनाइटेड कप २०८२ : क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता सुरु

बोली खबर   २०८२-०८-१८

पाल्पा, रामपुर ।
रामपुर नगरपालिका–५, भम्बक खेलमैदानमा दोस्रो भम्बक युनाइटेड कप २०८२ क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता विधिवत् रूपमा सुरु भएको छ। भम्बक युनाइटेड क्लबका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन्।

उद्घाटन खेल न्यु होराइजन क्लब रुपन्देही र पाल्पा भलिबल संघबीच भएको थियो। रोमाञ्चक प्रतिस्पर्धामा पाल्पा भलिबल संघले प्रतिद्वन्द्वी न्यु होराइजन क्लबलाई लगातार ३ सेटमा पराजित गर्दै बिजय हासिल गरेको हो। पराजित हुँदै न्यु होराइजन क्लब प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पाल्पा भलिबल संघका रेशम बिक ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, वडा नं. ५ का अध्यक्ष दुर्गाप्रसाद पोखरेल, पूर्व वडा अध्यक्ष हिमाल मल्ल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहयोगदाता, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगितामा मणिमुकुन्द क्लब रुपन्देही, पाल्पा भलिबल संघ, स्याङ्जा भलिबल संघ, नवलपुर भलिबल संघ, न्यु होराइजन क्लब रुपन्देही, एपीएफ क्लब पोखरा र आयोजक भम्बक युनाइटेड क्लब गरी कुल ७ उत्कृष्ट टोलीहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको प्रथम पुरस्कारको रूपमा नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कारमा १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कारमा ५० हजार नगद, सान्त्वना पुरस्कारमा ३० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबले जनाएको छ। साथै उत्कृष्ट खेलाडीलाई १० हजार नगद तथा उत्कृष्ट लिब्रो, स्पाइकर, सेटर, ब्लकर र सेभर विधामा ५–५ हजार रुपैयाँका पुरस्कार राखिएका छन्।

कार्यक्रमको सञ्चालन क्लबका सदस्य सालिकराम खनालले तथा स्वागत मन्तव्य संस्थापक सचिव गोविन्द प्रसाद भट्टराईले गरेका थिए। प्रतियोगिता यही मंसिर २० गतेसम्म सञ्चालन हुनेछ।