न्‍यू जल्पा देवी युवा क्लबद्वारा ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल प्रतियोगिता आयोजना

बोली खबर   २०८२-०८-१८


पिर्थ थापा मगर

पाल्पाको माथागढी गाउँपालिका–३, सिलङ्गीमा स्थापित न्‍यू जल्पा देवी युवा क्लबले ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

क्लबका अध्यक्ष तथा खेल संयोजक टेक चौहान मगरका अनुसार भलिबल प्रतियोगिता २०८२ पुष २७ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। खेलमा सहभागी हुन इच्छुक टोलीहरूले २०८२ पुष २६ गतेसम्म दर्ता गरिसक्नुपर्ने छ।

प्रतियोगितामा सहभागी टोलीका लागि दर्ता शुल्क रु २,५१० निर्धारण गरिएको क्लबले जनाएको छ। विजेता खेलाडी तथा टोलीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना गरी क्रमशः रू ३०,०००, रू २०,०००, रू १०,००० र रू ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता माथागढी–३ सिलङ्गीको खेलमैदानमा हुनेछ। खेल पहिलो चरणमा T.T प्रणालीमा र दोस्रो चरणदेखि पोल प्रणालीमा सञ्चालन गरिने क्लबले जनाएको छ। प्रतियोगितामा ‘बी लेभल’का ८ जना खेलाडी र १ जना प्रशिक्षक सहभागी हुन पाउने छन्। तर जिल्ला तथा प्रदेश स्तरमा खेलिसकेका खेलाडीहरू भने यस प्रतियोगितामा सहभागी हुन नपाउने खेल संयोजक चौहानले जानकारी दिए।

सहभागी खेलाडीहरूले खाना, खाजा तथा बासको व्यवस्था स्वयम्‍ आफैंले मिलाउनु पर्ने छ। प्रत्येक खेलाडीले अनिवार्य रूपमा जर्सीमा उपस्थित हुनुपर्ने र खेल सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय नै मान्य रहने क्लबका अध्यक्ष चौहान मगरले बताउनु भएको छ ।