पाल्पा, रामपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो
पाल्पा ।
रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, अपाङ्गता परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गरिएको हो। ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको नगरपालिकाले जनाएको छ।
दिवसको अवसरमा ६ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको थियो भने १ जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको छ।
सहायता सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्नुभयो। उहाँले फरक क्षमता भएका व्यक्तिहरुप्रति समाज र राष्ट्रले सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख थापाले भने, “म अपाङ्ग छु भनेर आफुलाई कमजोर नसोच्नुस्, उच्च मनोबलका साथ अगाडि बढ्नुस्। नगरपालिका सधैँ तपाईँहरुकै साथमा छ, सहयोग गर्छौँ।”
उहाँका अनुसार नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरी फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारी तथा निःशुल्क आवासको व्यवस्था गर्दै आएको छ। साथै, अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्ने व्यवसायमा नगरपालिकाले कर छुट प्रदान गर्दै आएको पनि बताउनुभयो।
यसैक्रममा रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको सरल जीवनयापन र सहायताका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले जीवन उपयोगी सीप तथा तालिममार्फत उनीहरूलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन भइरहेको बताउनुभयो।
कार्यक्रममा उपस्थित प्रशासकीय अधिकृत युवराज पन्थीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, कानुनी व्यवस्था तथा संरक्षणका विषयमा सहजीकरण गर्नुभएको थियो।
दिवसका अवसरमा क वर्गको एक, ख वर्गका दुई र ग वर्गका तीन गरी विभिन्न तहका अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो।
कार्यक्रम अपाङ्गता र अभिभावक मैत्री संघ रामपुरको भवन प्राङ्गण, रामपुर बेझाँडमा सम्पन्न भएको थियो। कार्यक्रम नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको हो।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो।
अन्त्यमा सहभागीहरूको तर्फबाट अपाङ्गता अभिभावक मैत्री संघका अध्यक्ष जगन्नाथ कन्डेलले धन्यवाद ज्ञापन गर्नुभयो।





