दोस्रो भम्बक युनाईटेड कपको उपाधि एनवाईसी नरेठाँटी गल्कोट बागलुङलाई

बोली खबर   २०८२-०८-२२

पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कप भलिबल प्रतियोगिताको उपाधि एनवाईसी नरेठाँटी गल्कोट, बागलुङले हात पारेको छ। फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लबलाई सोझो सेटमा पराजित गर्दै नरेठाँटीले विजेता बनेको हो।

शनिबार सम्पन्न फाइनलमा नरेठाँटीले २५–२२, २५–१३ र २५–२० को सोझो सेट जित्दै उपाधि चुम्यो। यससँगै आयोजक भम्बक युनाईटेड क्लब उपविजेतामा सीमित रह्यो।

विजयी टोलीले नगद २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।


तृतीय स्थान पाल्पा भलिबल संघ

तृतीय स्थानका लागि शनिबार नै भएको खेलमा पाल्पा भलिबल संघले ठकुरी दर्शन समाज शुक्लागण्डकी, तनहुँलाई ३–१ सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–२३ र २५–१५ ले जित्यो भने तेस्रो सेट २५–२० ले शुक्लागण्डकीले आफ्नो पक्षमा पार्यो।

तेस्रो भएका पाल्पा भलिबल संघले ५० हजार र सान्त्वना स्थान पाएको शुक्लागण्डकीले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।


व्यक्तिगत विधागत पुरस्कारहरू

  • सर्वोत्कृष्ट खेलाडी (MVP) – सन्जु विक्रम शाह (एनवाईसी नरेठाँटी)
  • बेस्ट सेटर – सन्तोष विक (नरेठाँटी)
  • उत्कृष्ट स्पाइकर – रवि केसी (भम्बक युनाईटेड)
  • उत्कृष्ट ब्लकर – विश्वास अधिकारी (नरेठाँटी)
  • उत्कृष्ट डिफेन्डर – राजन दर्लामी मगर (नरेठाँटी)
  • राइजिङ प्लेयर – विप्लव शाही ठकुरी (नरेठाँटी)

विजेताहरूले नगद, ट्रफि तथा मेडलबाट सम्मानित गरिए।


स्थानीय तहको भूमिका महत्वपूर्ण : नगर प्रमुख थापा

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद मानव जीवनको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो। उहाँले भलिबलप्रति युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै विकासका लागि आवश्यक बजेट व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकार सचेत रहनुपर्ने बताउनुभयो।

त्यस्तै उहाँले भम्बक खेलमैदानमा भलिबलका लागि प्याराफिट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नगर प्रमुख थापाले क्लबहरूलाई खेलकुदसँगै सामाजिक विकृति र विसङ्गति हटाउन समाजिक कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो।


५ क्लबको सहभागिता

भम्बक युनाईटेड यूथ क्लबका अध्यक्ष बालकृष्ण कुमालका अनुसार गत मंसिर १६ गतेदेखि सुरु प्रतियोगितामा ५ वटा क्लबको सहभागिता रहेको थियो। समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमको सञ्चालन क्लब सदस्य शालिकराम खनालले गर्नुभएको थियो। समापन कार्यक्रममा विभिन्न सांस्कृतिक तथा साँगितिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।