निस्दीकाे मित्यालमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

बाेलीखबर   २०८२-०८-२७

पाल्पा ।  रामपुर–मित्याल– अरुणखोला सडक खण्ड अन्तर्गत  निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना भएको छ । निस्दी–४, मित्याल च्युरीबासमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको घटनास्थल मै मृत्यु भएको र आठ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक र घाइतेहरुको पहिचान हुन बाँकी रहेको छ ।

प्रारम्भिक जानकारी अनुसार उकालो सडकमा जिपले नताने पछि यात्रु ओराल्ने क्रममा जिप व्याक भएर दुर्घटना भएको हो । जिप सडक बाट झण्डै एक किलोमिटर तल खसेको छ । पत्रकार पुनाराम सुनारीका अनुसार घाइतेहरुलाई उद्धार गरी निस्दी गाउँपालिकाको गाडी मार्फत अस्पताल पठाईएको छ । उद्धार कार्य अझै जारी रहेको प्रहरीले बताएको छ ।

तस्बिरः पुनाराम सुनारी