रामतुलसी नमुना माबि, रामपुरको ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सव पूर्व सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

बोली खबर   २०८२-०८-२८


पाल्पा, रामपुर — रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुरले आफ्नो ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सवको अघिल्लो दिन ‘स्वच्छ विद्यालय–सुरक्षित समुदाय’ नारासहित बृहद् सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालयका शिक्षक–विद्यार्थी संयुक्त रूपमा मुख्य बजार क्षेत्र, बेझाड नगरपालिका परिसर, विद्यालय आसपास, नहर अफिस चोक हुँदै बाङ्गे पसलसम्म सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए।

विद्यालयका प्राचार्य बालकृष्ण लम्सालले उत्सवपूर्व सरसफाइ अभियानले विद्यार्थीमा सामाजिक चेतना र जिम्मेवारीबोध बढाएको बताउनु भएको छ ।
“शिक्षा केवल किताबमा सीमित हुँदैन। समाजलाई स्वच्छ, सजग र सचेत बनाउने जिम्मा पनि विद्यालयकै हो। आजको सरसफाइ अभियानले विद्यार्थीलाई जीवनपर्यन्त काम लाग्ने व्यवहारिक शिक्षा दिएको छ,” प्राचार्य लम्सालले भन्नुभयो।

विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष बिशाल श्रेष्ठ अशोकले यस प्रकारका गतिविधिले विद्यालय–समुदाय सम्बन्ध अझ प्रगाढ बनाउने उल्लेख गर्नु भएको छ ।
“विद्यालय र समुदायबीचको सहकार्यले मात्र दिगो परिवर्तन सम्भव हुन्छ। विद्यार्थीकै नेतृत्वमा भएको आजको अभियानले रामपुरलाई अझ सुन्दर र सभ्य बनाउन योगदान गरेको छ,” अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी विद्यालयकी सक्रिय र प्रेरणादायी शिक्षिका सम्झना घिमिरेले विद्यार्थीको सहभागिता र उत्साहप्रति खुशी व्यक्त गर्दै यसलाई चरित्र निर्माणसँग जोड दिनु भएको छ ।
“विद्यार्थीले आफूले बसोबास गर्ने समाजप्रति गर्व र दायित्व बोध गर्न सिक्नुपर्छ। सरसफाइ अभियानले उनीहरूमा अनुशासन, सहकार्य र सकारात्मक बानी विकास गर्न मद्दत गरेको छ,” उहाँले भन्नू भयो।

विद्यालयले आयोजना गरेको ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सव पुस १ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। उत्सवमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, विज्ञान तथा कृषि प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शन, प्रतिभा खोज प्रतियोगिता लगायतका विविध आकर्षक गतिविधिहरू समावेश रहने विद्यालयले जानकारी दिएको छ।