लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला रामपुरमा सम्पन्न

बोली खबर   २०८२-०८-२९

रामपुर (पाल्पा), मंसिर २७

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न भेलाका मुख्य पाहुना वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनुभएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनुभएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

जिल्ला समिति पाल्पाका उपाध्यक्ष गोविन्द नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य पाहुना आचार्यले ‘पाल्पा कुञ्ज’को लोकार्पण तथा ‘रूपा’ उपन्यासको विमोचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य पाहुना आचार्यले समाज रूपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धार्मिक तथा पर्यटकीय स्थलको पहिचानसँगै कुनाकन्दरामा लुकेर रहेको साहित्यिक ऊर्जालाई उजागर गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको बताउनुभयो ।

रामतुलसी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका साहित्यकार तथा स्रष्टाहरूले पालैपालो कविता, गजल, मुक्तक, गीत, हाइकु, लोरी लगायत विविध साहित्यिक सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा ७० भन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो भने ७ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गोविन्दमोहन खड्काले ‘रूपा’ उपन्यासबारे प्रकाश पार्नुभएको थियो । रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, साहित्यकार श्यामप्रसाद न्यौपाने, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय अध्यक्ष आजादले प्रतिष्ठानको स्थापना, उद्देश्य, हालसम्मका गतिविधि र भावी योजनाबारे जानकारी गराउँदै नेपाली भाषा–साहित्यप्रति समभावको विचार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रस्तुत सिर्जनाहरूमा राष्ट्रप्रेम, प्रकृति चेतना, मानवीय संवेदना, लोकतान्त्रिक व्यवस्थाभित्रका विकृति–विसङ्गति, प्रतीक, बिम्ब र अलङ्कारमार्फत समकालीन यथार्थलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको पाइयो ।

अबेरसम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव तुल्सीप्रसाद पोखरेलले गर्नुभएको थियो भने वासुदेव ढकालले सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।