रामतुलसी नमुना माविमा ५८ औँ वार्षिक उत्सव : ३९अक्षयकोषबाट ९० बढी विद्यार्थीलाई छात्रवृत्ति

बोली खबर   २०८२-०८-३०

पाल्पा । रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले आफ्नो ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसलाई अर्थपूर्ण बनाउँदै विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा विद्यालयमा स्थापना भएका ३९ वटा अक्षयकोष, स्नेह कोष र सम्मान कोषमार्फत ९० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ (अशोक) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षयकोषका संस्थापक तथा संरक्षकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना तथा भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषको उद्देश्य र महत्वबारे जानकारी गराउनु भएको थियो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने, आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई विशेष रूपमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको थियो । यस अवसरमा वार्षिक उत्सवको क्रममा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सव विशेष समारोह अन्तर्गत मंगलबार विद्यालयमा खाना उत्सव, शैक्षिक तथा चित्रकला प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुने विद्यालयले जानकारी दिएको छ । उत्सवको पूर्वसन्ध्यामा सोमबार साँझ विद्यालय परिसरमा दीप प्रज्वलन समेत गरिएको थियो ।