विद्यालयको खाना महोत्सव पाँच लाख बराबरको कारोबार

बोली खबर   २०८२-०९-०१

पाल्पा, रामपुर ।
रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुर पाल्पामा विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव सम्पन्न भएको छ । मंगलबार आयोजना गरिएको महोत्सव विद्यार्थीलाई मौलिक खानाका परिकार, सांस्कृतिक विविधता र व्यवहारिक सीपको जानकारी दिन उद्देश्यसहित सञ्चालन गरिएको हो ।

खाना महोत्सवमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले बटुक, सेलरोटी, यमोरी, फुरौला, खिर अचार, भुटेको मकै, भटमासलगायत विभिन्न मौलिक परिकार तयार गरी अभिभावक तथा पाहुनालाई स्वाद चखाएका थिए । विद्यार्थीहरूले कक्षा शिक्षकको सहयोगमा फरक–फरक परिकार तयार गरी आफैँ विक्री वितरण गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालका अनुसार विद्यार्थीलाई मौलिक खानाको ज्ञान दिनुका साथै पाककला, प्रस्तुति, व्यवस्थापन र बजारिकरणका सीप विकास गराउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको हो । खाना तयार गर्ने, सजाउने र प्रस्तुत गर्ने गतिविधिले विद्यार्थीको सिर्जनशीलता र आत्मविश्वास बढाउने भएकाले गत वर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिइँदै आएको उहाँले बताउनुभयो ।

महोत्सवमा १७ वटा स्टल राखिएको थियो । शिक्षक सम्झना घिमिरेका अनुसार स्टलहरूमा मगर, नेवारलगायत विभिन्न समुदायका परम्परागत खानाका परिकारलाई प्राथमिकता दिइएको थियो भने केही आधुनिक परिकारसमेत समेटिएको थियो ।

कक्षा १० की विद्यार्थी समिक्षा भुसालले खाना महोत्सवले आफ्नै संस्कृति भित्रका खानाका परिकारबारे अरूलाई जानकारी गराउने र अन्य समुदायका खानाको स्वाद तथा संस्कृतिबारे जान्ने अवसर दिएको बताउनुभयो । परिकार विक्रीबाट संकलित आम्दानी सामाजिक कार्यका लागि कक्षाको कोषमा राखिने विद्यार्थीहरूले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक) ले विद्यालयले व्यवहारिक, सीपमूलक तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । साथै, कृषिबाली विज्ञानका विद्यार्थीहरूले उत्पादन गरेका अचार, च्याउका ब्लबको विक्री वितरण, कृषि प्रविधिका नमुना र विज्ञान सामग्रीको प्रदर्शनसमेत गरिएको थियो ।

खाना महोत्सवको लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ तथा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अवलोकन गर्नुभएको थियो ।
शिक्षक रमेश अधिकारीका अनुसार खाना उत्सबबाट करीब ५ लाख बराबरको कारोबार भएको जानकारी गराउनु भएको छ ।