रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनायो

बोली खबर   २०८२-०९-०२

पाल्पा रामपुर रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । रामतुलसी मावि रामपुर नगरपालिका–५ पाल्पाले स्थापनाको ५८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार भव्यताका साथ वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथि रहनु भएको थियो । वार्षिक उत्सव समारोहको समुद्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले प्रविधिको विकास संगै युवा पुस्ताको चाहाना र आवश्यकता बढ्दै गएको स्मरण गर्दै उहाँले समय सापेक्ष शिक्षामा जोड दिनु आवश्यक रहेको बताउनुभयो ।एआईको विकास संगै प्रविधिले थप फड्को मारेको बताउनुहुँदै नयाँ पुस्तालाई सोही अनुसार प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो। उहाँले समय अनुसारको व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पढेपछि उत्तीर्ण हुने मात्रै शिक्षा होईन, व्यावसायिक तथा व्यवहारिक बनाउने खालको शिक्षा आजको आवश्यकता हो ।’ पाटी, चौतारी बाट सुरु भएको विद्यालयले सुविधा सम्पन्न भवन बाट आधुनिक प्रविधी सहित शिक्षा दिएको देख्दा खुशी लागेको बताउनुभयो । प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोगका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
वार्षिकोत्सबमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सैद्धान्तिक ज्ञान संगै संस्कार सहितको व्यवहारिक ज्ञान तत्कालको आवश्यकता रहेको बताउनुभयो । सबैको साथ र विद्यालयको व्यवस्थापनले विद्यालयले छोटो समयमा प्रगति गर्न सफल भएको बताउँदै थापाले कुनै पनि संस्थाको प्रगतिमा व्यवस्थापन पक्ष महत्वपूर्ण रहेको बताउनुभयो । रामतुलसी मावि कालीगण्डकी उपत्यका र जिल्लाको पूर्वी क्षेत्रको नमुना विद्यालयको रुपमा रहेको विद्यालयले रामपुर नगरको गौरव बढाएको छ उहाले भन्नू भयो
। विद्यालयको प्रगति संगै सरकारले रामतुलसीलाई प्राथमिकताका साथ आवश्यक साथ र सहयोग गर्दै आएको स्मरण गराउनुभयो । उहाँले नगरपालिकाको निरन्तर सहयोग गर्दै आएको र स्रोत तथा साधनले भ्याए सम्मको सहयोग आगामी दिनमा पनि जारी रार्ख्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ (अशोक) को अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्था र आगामी योजना सहितकोे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म दुई हजार ७७२ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विद्यालयमो जग्गा ११३ रोपनी १३ आना रहेको जानकारी गराउँदै विद्यालयको १९ वटा ब्लकमा ९० वटा कक्षा कोठा सञ्चालनमा रहेको बताउनुभयो । विद्यालयमा शिक्षक र कर्मचारी गरी १२५ जना कार्यरत रहेको बताउनुभयो ।
विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । प्रधानाध्यापक लम्सालले विद्यालयको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ अशोकले विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि चालु शैक्षिक सत्र बाट कक्षा ११ मा होटल म्यानेजमेण्ट कक्षा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई वर्तमान अवस्था सम्म ल्याउन साथ र सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । विद्यार्थीको चापलाई मध्यनजर गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माणको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत छ करोड २० लाखको लागतमा नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो । कार्यक्रममा विद्यालयका लेखापाल हरिहर रेग्मीले गत आर्थिक वर्षको आयव्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रममा असल अभिभावक , उत्कृष्ट शिक्षक कर्मचारी , पुर्व सन्चालक समिती , सस्थापक , सन्चारकर्मी लगाएतलाइ सम्मान गरिएको छ ।कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।वार्षिक उत्सवको अवसरमा विद्यार्थीका सांस्कृतिक प्रतिभा प्रस्तुत गरिएको थियो । साथै शैक्षिक सामग्री प्रदर्शनी , चित्रकला प्रदर्शनी ,खाना महोत्सव समेत गरिएको थियो ।