पाल्पा, पुस ५ । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुर पाल्पाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालमा पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका विकृति र ठगीका घटनाका कारण सरकारले सहकारीलाई थप कडाइका साथ नियमन गर्दै लगेको उल्लेख गर्नुभयो । “यस्तो चुनौतीपूर्ण परिवेशमा पनि रामपुर सहकारीले तलब–भत्ता नलिई निस्वार्थ भावले आयआर्जन र सदस्यको आर्थिक सशक्तीकरणमा जोड दिँदै अघि बढ्नु उदाहरणीय छ,” उहाँले भन्नुभयो ।
श्रेष्ठले लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेका करिब ७ सय ७३ वटा सहकारी संस्थामध्ये रामपुर बचत तथा ऋण सहकारी संस्था अनुकरणीय सहकारीका रूपमा चिनिन सफल भएको बताउनुभयो । सहकारी अभियानलाई दिगो, पारदर्शी र विश्वासयोग्य बनाउन यस्ता संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
संस्थाका उपाध्यक्ष बावुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आइक्यानका अध्यक्ष निलबहादुर सारुले देशमा सहकारी सञ्चालन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पनि रामपुर सहकारीले गरेका सकारात्मक कामको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पूर्व उपाध्यक्ष नगिलाल पौडेल, शेयर सदस्य दुर्गादेवी राना, शेयरधनी विष्णुप्रसाद बस्याललगायतले वर्तमान अवस्थामा सहकारीको भूमिका, आवश्यकता र महत्वबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हो ।
साधारणसभाका अवसरमा अध्यक्ष गुरुप्रसाद रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव कृतिनाथ श्रेष्ठले प्रस्तावित नीति तथा कार्यक्रम प्रतिवेदन पेश गर्नुभयो । कोषाध्यक्ष बन्दना पोख्रेलले आर्थिक प्रतिवेदन र लेखा परीक्षण समिति संयोजक होमनाथ अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संचालक समितिका सदस्य हजुल मियाले धन्यावाद ज्ञापन दिनुभएकाे थियाे ।
साधारणसभामा आर्थिक बर्ष २०८१/०८२को प्रगती प्रतिबेदन र २०८२/०८३ को योजना तथा प्रस्ताव पारीत गरिएको छ । सहकारीले ७१ करोड १४ लाख ७७हजार ५सय ११ बराबर आर्थिक कारोबार गरेको छ । कुल आम्दानी ५ करोड ३६ लाख ५ हजार १ सय ६१ रहेको छ भने कुल खर्च ४ करोड ३४लाख३१ हजार ४सय८३ रहेको छ । कुल नाफा १ करोड १लाख ७३हजार ७सय७८रहेको सहकारीले जनाएको छ । संस्थाको शेयर पुजि ५करोड ९४ लाख२१ हजार ४सय रहेको संस्थाका कोषाध्यक्ष बन्दना पोखरेलले जानकारी दिनु भएको छ ।
कार्यक्रममा नियमित बचतकर्ता, बाल बचतकर्ता, दैनिक बचतकर्ता, असल ऋणकर्ता तथा रेमिट्यान्स बचतकर्तामध्ये १२ जनालाई नगद, सम्मानपत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । साथै चिठ्ठामार्फत ८० जना शेयर सदस्यलाई थर्मस वितरण गरिएको थियो ।
विधागत पुरस्कारतर्फ नियमित बचतमा उमाकुमारी श्रेष्ठ र नन्दलाल श्रेष्ठ, बाल बचतमा सरगम वस्ताकोटी र स्ट्रोमी राना, असल ऋण सदुपयोगकर्तामा मिना सिग्देल र महेन्द्र सुनार, दैनिक बचततर्फ बिनिता खड्का र तीर्थप्रसाद पङ्गेनी, ऐच्छिक बचततर्फ बसन्ती आले र टिकाराम न्यौपाने तथा रेमिट्यान्स कारोबारतर्फ धनमाया दर्जी र रीमा गैरे सम्मानित हुनुभएको छ ।
कार्यक्रममा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने सहकारीका सुरक्षागार्ड राजु सुनारले सहकारीसम्बन्धी गीत गाएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनु भएको व्यवस्थापक गोविन्द पाठकले जानकारी दिनुभयो ।
हाल रामपुर बचत तथा ऋण सहकारी संस्थामा ४ हजार ५ सय ४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।









