सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना

बोली खबर   २०८२-०९-०६

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिकहरुलाई परामर्श प्रदानका लागि इलाका प्रशासन कार्यालय रामपुरमा उप–केन्द्रको उद्घाटन गरिएको हो ।उप–केन्द्र बाट सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि सहजिकरण सेवा प्रवाह गरिनेछ । उप–केन्द्रको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । कार्यक्रमको अवसरमा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धमा अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वैदेशिक रोजगारले अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणले ओगटे पनि स्वदेशमा पुँजी निर्माण जुन मात्रा हुनु पर्नेहो सो अनुसार हुन नसकेको बताउनुभयो । अधिकांश रेमिटान्स घरखर्चमा सकिने गरेको बताउनुभयो । उहाँले सामी कार्यक्रमले वैदेशिक रोजगारको क्रममा समस्यामा परेका नागरिकहरुको सहजताको लागि कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । स्थानीय सरकारले स्वदेश मै युवाहरुलाई स्वरोजगार सृजनाका लागि कार्यक्रम सञ्चालन गरे पनि युवाहरुलाई आकर्षण कम रहेको बताउनुभयो । युवाहरुलाई स्वदेश मै उद्यमी बनाउन प्रयास गरे पनि अवसरको खोजीमा विदेश पलायन हुनेको संख्या बढ्दै गएको बताउनुभयो । वैदेशिक रोजगारी मोह बढ्दो क्रममा रहेकाले सञ्चालनमा रहेका युवा स्वरोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउनुभयो ।पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले ग्लोबलाईजेशनको समयमा विदेश जान चाहाने युवालाई रोक्न नसकिने अवस्था रहेको बताउँदै वैदेशिक रोजगारीका सुरक्षित बनाउनु आवश्यक रहेको बताउनुभयो । नेपालको साक्षरता प्रतिशत बढे पनि वित्तिय साक्षरताको कमी रहेका कारण वैदेशिक रोजगार बाट प्राप्त रेमिट्यान्सको उचित सदुपयोग हुन नसकेको बताउनुभयो । वैदेशिक रोजगार बाट प्राप्त पुँजीको सही व्यवस्थापन र पूँजी निर्माणमा थप टेवा दिने बताउनुभयो । नेपालीको प्रतिष्ठा थप उच्च बनाउन सहयोग गर्ने बताउनुभयो । सुरक्षित वैदेशिक रोजगारीका लागि सामी कार्यक्रमले महत्वपूर्ण टेवा दिने बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले वैदेशिक रोजगारीको क्रममा देखिएका समस्या समाधानका लागि सबै लाग्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले ढिलै भएपनि कार्यक्रम लागु हुनु खुशीको कुरा भएको बताउनुभयो । एनआरएनए युएईका अध्यक्ष भिम मल्ल ठकुरीले कम्पनीको डिमाण्ड लेटरमा दुतावास छाप सुनिश्चित गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा देखिएको समस्याको बारेमा जानकारी दिनुहुँदै विच मै कम्पनी छाडेर भाग्ने, कम्पनी भनेर जाने तर घरेलु कामदारको रुपमा बस्नु पर्ने समस्या बढ्दै गएको बताउनुभयो । एनआरएनएले पनि नेपालीहरुको समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो । सामी कार्यक्रमले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि थप टेवा दिने बताउनुभयो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक विजय ठाकुरले वैदेशिक रोजगारले दिएको योगदान, चुनौती, समस्याको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले सन २०११ म दुई जिल्ला बाट सुरु भएको कार्यक्रम चौथो चरणमा ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालनको क्रममा रहेको बताउनुभयो । परियोजनाले सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि सहजिकरण, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता लगाएतका सेवा प्रदान गर्ने बताउनुभयो ।

सामी परियोजना पाल्पाका कार्यक्रम संयोजक दिनेश घिमिरेले जिल्ला बाट प्रवाह हुँदै आएको सेवा र वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । पाल्पाको तानसेनमा गत वर्ष देखि कार्यक्रम सुरु भए पनि बाँकी स्थानीय तहमा यस वर्ष देखि कार्यक्रम सुरु भएको छ । वैदेशिक रोजगारीको क्रममा देखिएका नेपालीको समस्या समाधानको प्रक्रिया, क्षतिपूर्तिको बारेमा जानकारी दिनु भएको थियो । रामपुर नगरपालिका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले नगरपालिकाले वैदेशिक रोजगारी सम्बन्धी गरेका कार्यको बारेमा जानकारी दिनु भएको थियो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको थियो । रामपुर नगरपालिका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा अधिकृत विक्रम बस्नेतले गर्नु भएको हो