सेवा नै धर्म हो’ नारासहित नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न
रामपुर, पाल्पा
‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन आधारभूत माध्यमिक विद्यालय, रामपुरमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मानवता, सेवा र निष्पक्षताको प्रतीक संस्था भएको बताउँदै विपद्, महामारी तथा आपत्कालीन अवस्थामा रेडक्रसले पुर्याएको योगदान अमूल्य रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “रेडक्रस नाफामूलक होइन, सेवामूलक संस्था हो। राज्यले सबै ठाउँमा एकैपटक पुग्न नसक्ने अवस्थामा रेडक्रसजस्ता संस्थाले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।”
श्रेष्ठले रामपुर क्षेत्रमा रेडक्रसले सञ्चालन गर्दै आएका एम्बुलेन्स सेवा, प्राथमिक उपचार तथा रक्तदानजस्ता कार्यक्रमहरू उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेश सरकारको तर्फबाट समेत सहकार्य र आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
साधारणसभामा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २ लाख १८ हजार ५ सय १६ रुपैयाँ आम्दानी, १ लाख २५ हजार ८ सय ३६ रुपैयाँ खर्च र ९२ हजार ६ सय ८० रुपैयाँ बचत रहेको जानकारी दिनुभयो।
कार्यक्रममा महामन्त्री बाबुराम कार्कीले नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी संस्थाका रूपमा सामाजिक भावनासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील रहेको बताउनुभयो। रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ता बहादुर रोकाले रेडक्रस सेवाभावले सञ्चालन हुने संस्था भएको उल्लेख गर्नुभयो भने मन्त्री केशवराज नेपालले पनि रेडक्रसको मानवीय सेवाको उच्च प्रशंसा गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला उपमन्त्री कमलराज भट्टराईले पछिल्लो समय रामपुर क्षेत्रमा रेडक्रसका गतिविधिहरू विस्तार हुँदै गएको बताउँदै गाउँ–गाउँ तथा टोल–टोलमा रक्तसमूह पहिचान कार्यक्रम गरिएको जानकारी दिनुभयो। उहाँले रामपुर अस्पतालमा स्थायी ब्लड युनिट सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
आजिवन सदस्य तथा सहिद बहुमुखी क्याम्पस रामपुरका पूर्व अध्यक्ष नेत्र प्रसाद भट्टराईले कार्यक्रम सफलताको शुभकामना दिँदै रामपुरमै ब्लड बैंक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासंघ पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेलले पनि रेडक्रसको सेवामूलक अभियान निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।
संस्थाका अध्यक्ष मनोरथ भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै एम्बुलेन्स सेवा, प्राथमिक उपचार तालिम, विपद् व्यवस्थापन तथा सामाजिक सेवामा रेडक्रसले निरन्तर योगदान दिँदै आएको जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिलक बहादुर श्रेष्ठले गर्नुभएको थियो।











