रामपुर रेडक्रस उपशाखाका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

बोली खबर   २०८२-०९-१३

पाल्पा, रामपुर ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमन्त्री तथा निर्वाचन अधिकारी कमलराज भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रेडक्रसका नीति, सिद्धान्त र मानवीय मूल्यलाई आत्मसात् गर्दै अनुशासनमा रही सेवा गर्ने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ खुवाइएको हो।

सपथ ग्रहणपछि नवनिर्वाचित सभापति मनोरथ भट्टराईले रेडक्रस उपशाखा रामपुरको भवन निर्माणका लागि रामपुर–७ मा अवस्थित चार आना तीन पैसा जग्गा दान गर्नु भएको घोषणा गर्नुभयो। साथै, समितिको पहिलो बैठकले दानमा प्राप्त उक्त जग्गा मालपोत कार्यालयमा दर्ता गराउन कोषाध्यक्ष केशवराज पोखरेललाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको छ।

पौष १० गते सम्पन्न रामपुर उपशाखाको पाँचौँ अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो। जसअनुसार उपसभापतिमा रमा भण्डारी, सचिवमा तिलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा केशवराज पोखरेल, सह–सचिवमा मन्जु पोखरेल र सह–कोषाध्यक्षमा हिरा पोखरेल चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा देवराज ढकाल, भेषराज अर्याल, बन्दना पोखरेल, सिता डोटेल र राधिका भण्डारी चयन हुनु भएको हो।

कार्यक्रममा निर्वाचन अधिकारी कमलराज भट्टराईले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै रेडक्रसजस्तो स्वार्थरहित संस्थालाई थप सशक्त बनाउन आजीवन सदस्य तथा विशिष्ट आजीवन सदस्यको संख्या वृद्धि गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले रेडक्रसको मानवीय सेवामा सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम आधारभूत माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।