रामपुर (पाल्पा) पाल्पाको रामपुर नगरपालिका–८ स्थित गङ्गा माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अन्तर्गतको ISO लोगो हस्तान्तरण गरिएको छ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर एवं UAF–USA का नेपाल प्रतिनिधि सुदिप शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवाली तथा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटालाई औपचारिक रूपमा ISO लोगो प्राप्त गर्नुभएको हो।
ISO Certification प्राप्त भएसँगै गङ्गा माध्यमिक विद्यालयले शिक्षण–सिकाइ प्रक्रिया, प्रशासनिक व्यवस्थापन, शैक्षिक गुणस्तर, सरसफाइ, सुरक्षा तथा सेवा प्रवाहमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्रममा गएको छ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापाले ISO लोगो प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर उपप्रमुख बालकुमारी थापाले गङ्गा माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवालीले ISO लोगो ले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने र अभिभावक तथा समुदायको विश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले ISO को लोगो केवल एउटा लोगो मात्र नभई विद्यालयलाई निरन्तर सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्वपूर्ण उपलब्धिका लागि अग्रसर रहेको बताउनु भएको छ । उहाँले यस सफलतामा योगदान पुर्याउने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई प्रमाणपत्र हस्तान्तरण गर्दै ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले ISO Certification ले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने आधारभूत मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
त्यस्तै विद्यालयको तर्फबाट रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल तथा विद्यार्थी शशी पराजुलीले आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष एवं पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक बद्री घिमिरेले गर्नुभएको हो भने अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरी ज्ञवालीले गर्नुभएको थियो।
हाल गङ्गा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ। विद्यालयमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। यहाँ नेपाली माध्यमसँगै अङ्ग्रेजी माध्यममा समेत पढाइ हुने गर्दछ भने कक्षा ११ र १२ मा पशुविज्ञान विषय पनि सञ्चालनमा रहेको छ।
ISO Certification प्राप्त गरेसँगै गङ्गा माध्यमिक विद्यालय रामपुर क्षेत्रकै गुणस्तरीय शिक्षाको उदाहरणीय विद्यालयका रूपमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।












