रामपुर (पाल्पा)
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एसबिआई बैंक लिमिटेड शाखा रामपुरले बालकल्याण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
रामपुर नगरपालिका–५ सानिअमराई, पाल्पा स्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका ७० जना विद्यार्थीलाई जाडो मौसममा सहयोग पुग्ने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसबिआई बैंक लिमिटेड शाखा रामपुरका शाखा प्रमुख नवराज ढुंगाना उपस्थित रहनु भएको थियो।
कार्यक्रममा बोल्दै शाखा प्रमुख ढुंगानाले जाडो मौसममा विद्यार्थीहरूलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको बताउनुभयो। साथै उहाँले विद्यार्थीहरूलाई अनुशासित भएर मन लगाएर अध्ययन गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र भट्टराई, शिक्षक–अभिभावक संघका अध्यक्ष कोषराज खनाल तथा प्रधानाध्यापक नगेन्द्र प्रसाद काफ्लेले विद्यालयलाई सहयोग गरेकोमा एसभीआई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बुद्धिराज आचार्यले गर्नुभएको थियो।




