रामपुर (पाल्पा) । मुक्तिनाथ विकास बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा स्याङ्जा क्षेत्रीय कार्यालय अन्तर्गत पाल्पाको रामपुरस्थित कार्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा क्षेत्रीय कार्यालय अन्तर्गतका १२ वटा शाखाबाट ८४ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको सिर्जनशीलता, कल्पनाशक्ति तथा कलात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
कार्यक्रमका अवसरमा कार्यालय प्रमुख शंकर प्रसाद गैरेले शिक्षा, कला र सिर्जनशीलतामा लगानी गर्नु बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
त्यसैगरी, रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ अशोकले जानकारी गराउँदै यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउने र प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई हौसला स्वरूप नगद पुरस्कार ग्रहण गराउँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। सो अवसरमा रामतुलसी नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा जनक सारु उत्कृष्ट घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ।




