स्याङ्जा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले कालीगण्डकी नदीको संस्कृति, पहिचान र अस्तित्व मासिने कुनै पनि प्रकारको सम्झौता गण्डकी प्रदेश सरकारबाट नहुने स्पष्ट पार्नुभएको छ।
स्याङ्जाको चापाकोटमा शुक्रबारदेखि सुरु भएको तेस्रो चापाकोट महोत्सव व्यापार मेला २०८२ को उद्घाटन गर्दै मन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनका विषयमा प्रदेश सरकार अडिग रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कालीगण्डकी हाम्रो संस्कृतिको मेरुदण्ड हो। यसको संस्कृति मासिने वा ह्रास आउने कुनै पनि कार्यमा गण्डकी प्रदेश सरकारको सहमति हुँदैन।”
मन्त्री गुरुङले प्रकृति र संस्कृति नै हाम्रो समुन्नतिको आधार भएको उल्लेख गर्दै गण्डकी प्रदेश प्रकृतिले भरिपूर्ण क्षेत्र भएको र मुलुकको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चापाकोट नगरपालिका कृषि र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको भन्दै कृषि उत्पादन वृद्धिका लागि पूर्वाधार विकास र कृषि उपजको बजारीकरणमा लगानी आवश्यक रहेको धारणा राख्नुभयो। साथै, नेपालको संविधानले समावेशी, समानुपातिक र सहभागिताको सुनिश्चितता गरेको पनि उहाँले स्मरण गराउनुभयो।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षणमा सुरु भएको मेला आगामी माघ ६ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँणले महोत्सवले चापाकोटका पर्यटकीय स्थलको उजागर गर्नुका साथै स्थानीय कृषक, उद्योगी र व्यवसायीको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कालीगण्डकी नदी डाइभर्सन कुनै पनि हालतमा हुन नहुने स्पष्ट पार्नुभयो।
उपप्रमुख इशा रानाले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै मेला तथा महोत्सवले स्थानको पहिचान स्थापित गर्नुका साथै व्यवसायलाई चलायमान बनाउने बताउनुभयो। वालिङ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष खगेन्द्र अर्यालले उद्योग वाणिज्य संघले उद्यमी र व्यवसायीलाई एउटै मञ्चमा आबद्ध गराउँदै राज्य र समाजको उत्थानमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। वडा नं. ९ का अध्यक्ष कृष्णप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
महोत्सव उद्घाटनका अवसरमा विभिन्न समुदायका ४७ वटा सांस्कृतिक झाँकी सहित विद्यालय, संघ–संस्था र महिला समूहको सहभागितामा नगर परिक्रमा गरिएको थियो। गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको मेलाले कालीगण्डकी बेशीको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला–संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यापारको सम्भावना उजागर गर्ने उद्देश्य लिएको छ।
चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले तेस्रो संस्करणको मेला कालीगण्डकी बेशीको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा संघको भवन निर्माण र दिगो व्यवस्थापनका लागि आयोजना गरिएको जानकारी दिनुभयो। अर्का अध्यक्ष शिव श्रेष्ठले कालीगण्डकी करिडोर र शालिग्राम करिडोर निर्माणसँगै चापाकोट नगरपालिका व्यापारिक हिसाबले थप महत्वपूर्ण बन्दै गएको बताउनुभयो।
मेला अवधिभर करिब एक लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिइएको छ। मेलामा कृषि, हस्तकला, सेवा, औद्योगिक तथा व्यापारिक गरी २५० स्टल रहेका छन्। साथै, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, चापाकोट डान्स आइडल, हेलिकप्टरमार्फत दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा तथा प्याराग्लाइडिङ्गको व्यवस्था गरिएको छ।
शुक्रबार उद्घाटनका दिन चर्चित लोकदोहोरी गायक कुमार पुन, पार्वती जिसी, नेत्र खड्का, जगत गौडेल र मुना अर्यालको प्रस्तुति रहेको थियो। शनिबार अर्जुन सापकोटा, कुमार पुनसहित लक्ष्मण ठकुरी, बत्ती थापा, सान्ता बर्देवा र नेत्र खड्काको प्रस्तुति रहनेछ। कार्यक्रम प्रस्तोताको रूपमा मुना अर्याल रहनेछिन्।
चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष ढाकाराम डोटेलको स्वागत मन्तव्य तथा सचिव शिव श्रेष्ठको सञ्चालन रहेको थियो।


