पाल्पा, ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार रामपुरमा पनि मनाईएको छ । ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाको अगुवाईमा रामपुर नगरपालिका–६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण सहित सलामी अर्पण गरी दिवस मनाएको हो ।
सुरक्षा बेस क्याम्प रामपुर स्थित नेपाली सेनाको दि फेमस महिन्द्र दल गुल्मको एक टुकडीले सलामी अर्पण गरेको थियो । दि फेमस महिन्द्र दल गुल्मका उपसेनानी विश्वास कुँवर नेतृत्वको टुकडीले सालिकमा सलामी अर्पण गरेको हो । सलामी अर्पण पश्चात सालिकमा माल्यार्पण गर्दै ठकुरी दर्शन महासंघका केन्द्रीय सदस्य लोकेन्द्र बहादुर मल्लले पृथ्वी नारायण शाहको योगदान कै कारण आज हामी नेपाली हौं भनेर गर्व गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
शाहले नेपालको भुगोलसँगै समुदायलाई एकतावद्ध गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष क्याप्टेन हिमाल मल्लले पृथ्वी नारायण शाहले राष्ट्र निमार्णमा महत्वपूर्ण योगदान दिएको भएपनि पृथ्वीजयन्ती ओझेलमा परेको प्रति चिन्ता व्यक्त गर्नुभयो । राज्य स्तर बाट दिवस उपेक्षामा परेपनि नेपाल एकीकरणमा शाहले खेलेको भुमिका तथा इतिहासको रक्षाका लागि समाजले कार्यक्रम गर्दै आएको बताउनुभयो ।
ठकुरी सहयोग सञ्जाल पाल्पाका उपाध्यक्ष बोम बहादुर शाहीले राष्ट्रिय एकता दिवस सबै जातजाति र भाषा संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण दिन भएको बताउनुभयो । ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष क्याप्टेन हिमाल मल्लको अध्यक्षतमा भएको कार्यक्रम ठकुरी सहयोग सञ्जाल पाल्पाका उपाध्यक्ष बोम बहादुर शाहीको स्वागत र दुर्गेश मल्लको सञ्चालनमा भएको हो ।
कार्यक्रममा पाल्पा, स्याङ्जाका विभिन्न स्थानका ठकुरी समाजका पदाधकारीहरुको समेत उपस्थिति रहेको थियो । त्यसअघि भेषभूषमा सजिएका ठकुरी समुदायका विभिन्न समूह र नेपाली सेनाले विजयपुर बजार, बुद्ध पार्क र्याली सहित परिक्रमा गरेको थियो
विभिन्न सामाजिक संघ–संस्था, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।






