रामपुर (पाल्पा), पौष २७ ।
बराहा कृषि सहकारी संस्था लि.को १५औँ वार्षिक साधारणसभा यही पौष २७ गते बराहाटा खेल मैदानमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष छायाचन्द्र पंग्रेनीको अध्यक्षता तथा रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री दिनेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दिनेश आचार्यले कृषि नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको उत्पादन, आम्दानी र जीवनस्तर उकास्न कृषि सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सहकारीमार्फत किसानलाई बचत, ऋण, बीउबिजन, प्रविधि र बजारसम्मको पहुँच सुनिश्चित गर्न सके मात्र कृषि पेशा सम्मानजनक र दिगो बन्ने धारणा राख्नु भयो ।
उहाँले स्थानीय सरकार कृषक र सहकारीसँग सहकार्य गर्दै व्यावसायिक कृषि, आधुनिक प्रविधिको प्रयोग र उत्पादनमा आधारित सहकारीलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको जानकारी दिनु भयो । “कृषि सहकारी किसानका साझा घर हुन्, जहाँ विश्वास, पारदर्शिता र सहभागिताले मात्र सहकारी सफल हुन्छ,” भन्दै सहकारीलाई अनुशासित, पारदर्शी र उत्तरदायी बनाउन सबै सेयर सदस्यको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रम वडा सचिब बासुदेब ढकालले कृषि कर्ममा नाम चलेको ठाउँ सेरा रहेकोमा यसको शाख नघट्ने गरि कृषिमा लाग्न हुन अनुरोध गर्नु भएको छ ।
शेयर सदस्य एवं पुर्ब सन्चालक समिति अध्यक्ष तारा प्रसाद भण्डारी र केशवराज अधिकारी आफ्ना भनाइ राख्नु भएको थियो ।
साधारणसभामा संस्थाका जेष्ठ सेयर सदस्य खुमकान्त सुवेदी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा संस्थाका पूर्व लेखा संयोजक मनोज आचार्यले आर्थिक वर्षको ८६लाख ७३हजार ५सय ४ रुपैयाँ कारोबार भएको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नियमित बचतकर्ता तारा प्रसाद भण्डारी र भिमराज घिमिरेलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी असल बाल बचतकर्ता यमुना भण्डारी र असल ऋणी सरस्वती वि.क. लाई सम्मान गरिएको थियो । जेष्ठ सेयर सदस्य खुमकान्त सुवेदीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सल्लाहकार सदस्य कृष्णप्रसाद घिमिरेले स्वागत गर्नु भएको थियो भने गीत द्धारा दुर्गा देवी आचार्यको समूहले स्वागत गरेको थियो ।
साधारणसभाले संस्थाको रिक्त रहेको लेखा संयोजक पदमा रामपुर नगरपालिका–८ निवासी शिव अधिकारीलाई सर्वसम्मत रूपमा नियुक्त गरेको छ ।
कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक दुर्गा वि.क. ले गर्नु भएको थियो ।







