रामपुर आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा २ रात ३ दिनको स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई विपत्को समयमा उद्धार गर्न सक्ने सीप, साहसिक क्रियाकलाप तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।
क्याम्पमा रामपुर स्काउट दलका ९० जना स्काउट विद्यार्थीहरू तथा ललितपुर जिल्लास्थित अनलज्योति स्कुलबाट ३९ जना स्काउट विद्यार्थी गरी जम्मा १२९ जनाको सहभागिता रहेको थियो। स्थानीय स्काउट संयोजक सागर श्रेष्ठका अनुसार संयुक्त क्याम्पले स्काउटहरूलाई व्यवहारिक ज्ञान र आपसी सहयोगको भावना विकास गर्न सहयोग पुगेको छ।
क्याम्प अवधिभर राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही तथा सहायक राष्ट्रिय प्रशिक्षक रोजीना शाहीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणमा स्काउट प्रतिज्ञा र नियम, टोली निर्माण, नेतृत्व विकास, प्राथमिक उपचार, आगलागी तथा बाढी–पहिरो जस्ता विपत्को बेलामा उद्धार गर्ने तरिका, घाइतेको सुरक्षित स्थानान्तरण, साहसिक अभ्यास, अनुशासन तथा आत्मरक्षा सम्बन्धी विविध गतिविधिहरू समावेश गरिएको थियो।
समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले स्काउट क्याम्पले विद्यार्थीहरूलाई कठिन परिस्थितिमा पनि धैर्य र साहसका साथ सेवा गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीहरूको व्यवहारिक जीवन सीप अभिवृद्धि हुने उल्लेख गर्नुभयो।
त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरु प्रसाद रेग्मीले विपत्को समयमा समाजका लागि अग्रपंक्तिमा उभिन सक्ने सक्षम युवा उत्पादनमा स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउँदै क्याम्प सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
क्याम्पमा सहभागी स्काउट विद्यार्थीहरूले विपत् व्यवस्थापन र उद्धार सम्बन्धी अभ्यासमार्फत नयाँ अनुभव र आत्मविश्वास हासिल गरेको प्रतिक्रिया दिएका छन्। आयोजक पक्षले आगामी दिनमा यस्ता स्काउट गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।
कार्यक्रम गत पौष २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।





