रामपुर, पाल्पा
रामपुर नगरपालिका–८ अन्तर्गत भुजातस्थित गुरुङगाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको गुरुङगाउँमा होमस्टे सञ्चालन गर्न सकिने अवस्था छ कि छैन भन्ने उद्देश्यले वडा नम्बर ८ को पहलमा सम्भाव्यता अध्ययन गराइएको हो। समुद्री सतहभन्दा उच्च भागमा अवस्थित गुरुङगाउँबाट विभिन्न हिमश्रृङ्खला, कालिगण्डकी नदीको नागबेली बगाइ, गण्डकी बेसिको समथर भू–भाग तथा शिद्धबाबा धामलगायतका आकर्षक दृश्य अवलोकन गर्न सकिने बताइएको छ।
वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश आचार्यले पाल्पामै मिलेको बस्ती रहेको गुरुङगाउँमा होमस्टे सञ्चालनको प्रबल सम्भावना देखिएकाले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले रामपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहीँ बसाइको व्यवस्था गर्ने उद्देश्यसहित काम सुरु गरिएको बताउनुभयो।
कार्यक्रममा नेपाल उद्यान महासङ्घका उपाध्यक्ष दलबहादुर गुरुङ तथा मणिमुकुन्द सेन संरक्षण समिति, बुटवलका युवराज घिमिरेले सम्भाव्यता अध्ययनपश्चात गरिएको अन्तरक्रियामा होमस्टे सञ्चालनका विशेषता, चुनौती, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो।
सम्भाव्यता अध्ययनपछि अभियन्ता दलबहादुर गुरुङले गुरुङ समुदायको मौलिक संस्कृति, अर्गानिक खाना, पारिवारिक बसाइ र सुरक्षालाई प्राथमिकतामा राखेर होमस्टे सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो। साथै बाघखोर डाँडामा ट्रीहाउस निर्माण गरी रामपुर, गण्डकी बेसि तथा हिमश्रृङ्खलाको अवलोकन गराउने योजना अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
युवा जनशक्ति वैदेशिक रोजगारीका लागि पलायन हुने समस्यालाई मध्यनजर गर्दै वडाले स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले पहल गरिरहेको जनाइएको छ। हाल १० घरधुरी रहेको गुरुङ बस्तीमा होमस्टे सञ्चालन गर्न सके रामपुरमा पर्यटक भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने सहभागीहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले रामपुर आउने पर्यटकले होमस्टेबारे सोधपुछ गर्ने गरे पनि हाल यहाँ होमस्टे नहुँदा समस्या हुँदै आएको उल्लेख गर्नुभयो। गुरुङ बस्तीमा होमस्टे सञ्चालनको प्रबल सम्भावना रहेकाले आवश्यक बैधानिक प्रक्रिया पूरा गरी सञ्चालन गर्न आग्रह गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा समाजसेवी फणेश्वर गौतमले होमस्टे रामपुरका लागि अत्यावश्यक रहेको र गुरुङगाउँ अत्यन्त सम्भावनायुक्त भएकाले सबैको सहकार्यमा सञ्चालनमा ल्याउनुपर्ने बताउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासङ्घ पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेलले गुरुङगाउँको विकाससँगै होमस्टे प्रवर्द्धनका लागि मिडियाले प्रभावकारी प्रचारप्रसार गर्ने बताउनुभयो।
छलफल कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको थियो।






